सांसद हटाएर उपनिर्वाचनमा गए पनि त्यसबाट अर्को पार्टीको सांसद आउन सक्ने सम्भावना पनि भएका कारण त्यो झन् आत्मघाती कदम हुन सक्ने अवस्था पनि देखिन्छ। यी सबै कुराबाट ओली पनि आफैं संकटमा देखिन्छन्। नेपाल समूहले एमालेभित्रै संघर्ष गर्ने बताउँदै आए पनि प्रधानमन्त्री ओलीले उनीहरूलाई कुनै पनि ठाउँ नदिने तयारी गरिरहेका छन्। धेरै समस्यामा पारे चारजनाको सांसद सदस्य पद नै जान सक्ने अवस्थाको पनि कारबाही प्रधानमन्त्री ओलीले गर्न सक्ने तयारी भएको स्रोतले बताएको छ । अहिले नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरे पनि सांसद पद कायमै रहनेछ।
नेपाल समूह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको रणनीतिबाट निर्देशित भएको ओली समूहको आरोप छ। प्रधानमन्त्री ओलीनिकट नेताहरू भन्छन्, ‘पार्टी कब्जा गर्ने रणनीति मात्रै लिएर नेपाल समूह लागे त्यसलाई परास्त गर्न ओलीले जे कदम पनि चाल्न सक्छन्।’ प्रधानमन्त्री ओलीले नेपाल समूहका चारजनालाई मात्र कारबाही गर्ने हो भने अन्यलाई कारबाही गर्नुपर्ने अवस्था आउँदैन भन्ने ओलीनिकट नेताहरूको विश्लेषण छ। यसबाट के देखिन्छ भने नेपाल समूहका अन्य सांसदहरूलाई तर्साउने र आफ्नो समूहमा ल्याउने रणनीति प्रधानमन्त्री ओलीले अपनाउनेछन्। नागरिक दैनिकबाट