काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन सक्रियहरु एकतावद्ध हुने सम्भावना बढेर गएको छ । सहमति बन्न लागेको र राजनीतिक लेनदेनले मात्र कुरा अड्किएको चाल पाएर ओलीले जनता समाजवादी पार्टीको एउटा समूहसँग सहमति बनाउन खोजेको छ ।
एमालेबाट मुख्यमन्त्री बनेकाहरुलाई पदबाट हटाउन बढेको सक्रियतामा जसपा सहभागिता जनाउन थालेपछि ओलीले हतारो देखाएका छन् । उनले आजै जसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटेका छन् । भेटमा जसपाको माग सम्बोधन गर्ने भन्दै ओलीले सरकारलाई लिखित साथ मागेका थिए ।
ठाकुरले भने प्रतिवद्धता नभई मागको कार्यान्वयनमा जोड दिएको विश्वस्त स्रोतले बताएको छ । जसपाले पक्राउ परेका कार्यकर्ताको मुद्दा फिर्ता देखि मधेशीलगायत सीमान्तकृत समुदायको माग सम्बोधनलाई शर्त बनाएको छ । जसले मुद्दा सम्बोधन गर्छ उसैलाई समर्थन गर्ने ठाकुर निकट नेता राजेन्द्र महतोले सार्वजनिक रुपमै बताइसकेका छन् ।
केही दिनयता ओलीनिकटस्थ मुख्यमन्त्रीहरुविरुद्ध प्रदेश सरकारमा समिकरण बन्न थालेको छ । प्रदेशहरुमा मुख्यमन्त्री फेरबदल देखि केन्द्रमा मन्त्री र उपसभामुखसम्ममा प्याकेजमा सहमतिको कुरा अगाडि बढिसकेको छ ।
गण्डकी प्रदेशमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीका लागि अगाडि बढेका छन् । उनलाई मुख्यमन्त्री बनाउने गरी सहमति बनेको हो । काँग्रेसले गण्डकीमा मुख्यमन्त्री पाउने गरी प्रदेशमा सत्ता समिकरण बन्नुलाई केन्द्रमा पनि बन्ने अभ्यासका रुपमा लिइएको छ ।
राष्ट्रिय जनमोर्चाले पनि अविश्वासको प्रस्तावलाई साथ दिने निर्णय लिइसकेको छ । अब काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समिकरण देखिएको छ । जनमोर्चाले भने सरकारमा नजाने निर्णय लिइसकेको छ ।
जसपाले सहमति दिएमा ओली सरकार ढाल्न समिकरण तयार हुनसक्छ । त्यसैले प्रधानमन्त्री ओली जसपालाई आफ्नो पक्षमा पार्न सक्रिय भएका छन् । उनले जसपाको ठाकुर समूहसँग छलफललाई गति दिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३