काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव कुमार नेपालसँग एकपटक निर्णायक वार्ता गर्ने भएका छन् । यही बैशाख २७ गते विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले पार्टी एकता कायम राख्नको लागि अधिकतम प्रयास राखेको बताउँदै आएका छन् । तर, नेपाल पक्षले पार्टी एकता कायम राख्नको लागि २०७५ जेठ २ गते फर्किनुपर्ने बटमलाईन राखेको छ । यसअघि दुई नेताबीच यही बैशाख ९ र १० गते काठमाडौंको होटेल म्यारियटमा भेटवार्ता भएको थियो ।
उक्त भेटवार्तामा दुवै नेता आ–आफ्नो अडानबाट टसमस नभएपछि वार्ता निश्कर्ष सम्पन्न भएको थियो । तर, यो बीचमा पार्टी एकता कायम गर्नुपर्ने पक्षमा रहेका दुवै पक्षका दोस्रो तहका नेताहरुले भने निरन्तर सम्वाद जारी राखेका छन् । ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई सक्रिय छन् भने नेपाल पक्षबाट योगेश भट्टराई र घनश्याम भुषाल छन् । एमालेको एकता जोगाउनको लागि दुवै नेताले आफ्नो अडान छोड्नुपर्ने उनीहरुको सुझाव छ । तर, दोस्रो तहका नेताहरुको सुझावलाई ओली र नेता नेपाल दुवैले ठोस रुपमा ग्रहण गरेका छैनन् ।
अब प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने घोषणा गरेसँगै नेपाल पक्षसँग वारपार गर्न खोजेको धेरै बुझेका छन् । तर, आज बसेको एमाले स्थायी कमिटी बैठकमा समेत अध्यक्ष ओलीले माधव नेपालसहित यसअघि कारबाही गरेका नेताहरुलाई फुकुवा गर्नेबारे छलफल थालेका छन् । म्यारियट होटेलमा भएको नेत नेपालसँगको एक्लाएक्लै भेटवार्तामा समेत ओलीले कारबाही फुकुवा गरिदिने वचन दिएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३