काठमाडौं – गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ्ग नै मुख्यमन्त्री नियुक्त भएका छन् । वर्तमान मुख्यमन्त्री गुरुङ्गलाई अल्पमतको सरकारको नेतृत्वका लागि मुख्यमन्त्री नियुक्त गरिएको हो ।
प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गरिएको उल्लेख छ । उक्त धारा अनुसार बहुमतको सरकारहरु बन्न नसकेपछि सबैभन्दा ठूलो दलको प्रदेसभा संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त गर्न सकिनेछ । तर, यसरी नियुक्त गरिएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
गण्डकी प्रदेशमा काँग्रेस, माओवादी र जसपाको गठबन्धनले बहुमत पुर्याउन नसकेपछि गुरुङ्ग नै मुख्यमन्त्री भएका हुन् । जनमोर्चाका दुई सांसदहरुले साथ नदिएपछि अंकगणित नपुगेको हो ।
यसअघि गण्डकी प्रदेशमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको नियुक्तिको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए । उनले बहुमत प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्तिका लागि पत्र बुझाएका थिए ।
पोखरेलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुमध्ये नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको ३, जनता समाजवादी पार्टीको २ गरी कुल ३२ सांसदको साथ रहेको पत्रमा उल्लेख गरेका थिए ।
मुख्यमन्त्रीको नियुक्तिको पत्र लेखेका पोखरेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनप्राप्त बहुमतको सरकार गठनको विषय उल्लेख गरेका थिए । तर, प्रदेश प्रमुख पौडेलले उपधारा ३ बमोजिम गुरुङ्गलाई नियुक्त गरिन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३