काठमाडौं – दुई खेमामा विभाजित जनता समाजवादी पार्टी (जसपा) मा नयाँ सहमति जुटेको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच तत्काल सरकारमा नजाने, तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा सरकार गठनमा अगाडि बढ्ने सहमति भएको छ ।
यादव पक्ष नयाँ सरकार गठनको पक्षमा भएपनि ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक थिए । प्रधानमन्त्रीले विश्वासको मत लिँदा तटस्थ बसेको ठाकुर पक्षले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसलाई पनि साथ दिएन ।
यही विवादका कारण पार्टीको कार्यकारिणी समिति बैठकसमेत बस्न सकेको थिएन । तर पछिल्लो तीन दिनयता सहमतिका लागि प्रयास तीव्र भएको थियो । ठाकुर र यादवबीच सम्वाद भएको थियो भने तत्कालीन राजपाबाट मनिष सुमन, मृगेन्द्र यादव तथा समाजवादी पार्टीबाट रेणु यादव, मोहम्मद इस्तियाक राई, प्रकाश सिंह र गंगानारायण श्रेष्ठ लगायतका नेताले दुई अध्यक्षलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए ।
त्यसक्रममा ठाकुर पक्ष तत्काल सरकारमा नजान सहमत भएको छ भने यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा निर्णयहरु नगर्ने भएको छ ।
अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त वक्तव्य जारी गर्दै तत्काल सरकारमा नजाने प्रष्ट पारेका छन् ।
यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अब संसदमा विश्वासको मत लिन जाँदा जसपाको साथ नपाउने पक्का भएको छ । संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई राष्ट्रपतिले ३० वैशाखमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए । ३१ वैशाखमा शपथ लिएका प्रधानमन्त्री ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।
जसपाका अध्यक्षद्वयले जारी गरेको वक्तव्यमा ‘राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वको सरकार बन्ने अवसर प्राप्त हुनसक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ’ भनिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३