वीरगंज – वीरगंज महानगरपालिका वडा नं. १४ बहुअरीस्थित रहेको स्पर्श मल्टिस्प्यासिलिटी हस्पिटलले नियम विपरीत बिरामीसंग एउटै शीर्षकमा फरक–फरक शुल्क ठगी लाखौँ रकम असुलेको खुलेको छ । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले बैशाख १६ गते उद्घाटन गरी संचालनमा आएको यस हस्पिटलले नेपाल सरकारले तोकेको नियमको धज्जी उडाउँदै उपचारको नाममा दोब्बर रकम असुलेको फेरी एउटा नयाँ ठगी केश सार्वजनिक सार्वजनिक भएको छ ।
वीरगंजमा स्वास्थ्य उपचारका क्षेत्रमा सुपरस्प्यासिलिटी सेवाको अभाव पूरा गर्न ८ जना चिकित्सकहरूको अगुवाइमा स्थापना भएको यस हस्पिटलले उपचारको नाममा सरकारको मापदण्ड विपरीत बिरामी ठग्न बढीशुल्क असुल्दै आएको यस अघि पनि पटक-पटक सार्वजनिक हुदै आएको छ । कोरोना संक्रमित भई स्पर्श हस्पिटल भर्ना भएकी पटेर्वा सुर्गाली निवासी ४६ वर्षीय राजकुमारी देवीसंग १७ दिनको अवधिमा लगभग ५ लाख रुपैयाँ असुलेको छ । बिरामी १७ दिनसम्ममा पनि निको नभएपछि डिस्चार्ज गराउँदा राजकुमारीको परिवारजनले हारगुहार लगाएपनि नियम विपरीत स्पर्श हस्पिटलले रकम असुलेरै छाडेको छ । राजकुमारीको १७ औँ दिनसम्म उपचार गराउँदा स्वास्थ्य अवस्था सुधार नभएपछि थप उपचारको लागि रेफर गराउँदा नेपाल सरकारले तोकेको रकमभन्दा बढी लाखौँ रुपैयाँ ठगी गरेको पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार आइसियुको बढीमा १५ हजार रुपैयाँ तोकेको छ । सरकारको नियम अनुसार २ लाख २५ हजार मात्रै लिनु पर्ने थियो तर स्पर्श हस्पिटलले एक दिनको २२ हजारको दरले १५ दिनको आइसियु शुल्क ३ लाख ३० हजार अर्थात् १ लाख ५ हजार रुपैयाँ सोझै बढी रकम तिराएको बिलबाटै प्रमाणित हुन्छ । यसैगरी स्पर्श हस्पिटलले एचडियुको शुल्कमा समेत डेढ गुणा बढी रकम असुलेको छ ।
२५ बेडको मान्यता पाएको यस हस्पिटलको सम्पूर्ण रेखदेखको जिम्मा पाएको वीरगंज महानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख अरुण महतोका अनुसार नेपाल सरकारले एचडियुका लागि एउटा बिरामीसंग एक दिनको बढीमा ७ हजार ५ सय मात्रै लिन पाउने मापदण्डमा रहेको छ । तर, स्पर्श हस्पिटलले १३ हजारको दरले ४ दिनको ५२ हजार अर्थात् २२ हजार बढी रकम लिएको छ । जबकी पर्साको बहुदरमाई नगरपालिका वडा नं. १ निवासी ६८ वर्षीय छोटेलाल पण्डितसंग सोही एचडियु शुल्कको १२ हजारको दरले असुलेको थियो । अर्थात् स्पर्श हस्पिटलले ठगीमा पनि १ हजार थप गरी ४ हजार बढी ठगी गरेको पाइएको छ । स्वास्थ्य महाशाखाका प्रमुख महतोका अनुसार नेपाल सरकारको मापदण्ड अनुसार निजी अस्पतालको लागि एक दिनको उपचार बापत सम्पूर्ण खर्च २२ हजार ५ सय रुपैयाँ मात्र लिन पाउँछन् तर, स्पर्श हस्पिटलले आइसियु र अक्सिजनको मात्रै १५ दिनसम्म प्रत्येक दिन २४ हजार ५ सय रुपैयाँ बिरामीलाई उपलब्ध गराएको बिलमै स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
महामारीको बेला जनताको सेवाको लागि खोलिएको स्पर्श हस्पिटल पटक पटक विवादमा तानिँदै आएको छ । यस हस्पिटलले बैशाख ३० गते मुक्ति राउत कुर्मीसंग लिएको बिलमा आइसियु, चार्ज १५ हजार लिएको छ भने जेठ १०.गते लालमुनी देवीसंग तिराएको बिलमा सोही आइसियुको चार्ज १५ हजार तिराएको छ जेठ २८ गते छोटेलाल पण्डितसंग तिराएको बिलमा सोही आइसियुको २२ हजार र अहिले आएर पनि स्पर्श हस्पिटलले २२ हजार रुपैयाँ सोही आइसियुको लिएको छ ।
बढी शुल्क हुनुमा काउन्टर स्टाफको गल्ती : संचालक डा. साह
स्पर्श हस्पिटलका सञ्चालकमध्येका एक संचालक डा. राजेश साहले कोभिडको लागि आईसियु शुल्क प्रतिदिन रु. १५ हजार र एचडियु शुल्क रु. ७ हजार रहेको बताउँछन् । उनले आईसियु शुल्क रु. १५ हजारभन्दा बढी र एचडियु शुल्क रु. ७ हजार भन्दा बढी नहुनु पर्ने दाबी गर्दै त्यसो भएको होला भने बिल काट्ने काउण्टर स्टाफको गल्ती रहेको बताउँदै पन्छिन खोजे । एउटामा मात्रै गल्ती हुन सक्छ कि ३/४ बिलमा समेत गल्ती हुन सक्छ भन्ने प्रश्नमा डा. साहले हामीले त्यति शुल्क लिन नभनेको बताउँदै त्यस्तो पाइएमा कर्मचारीलाई कारबाही गरिने र बढी पैसा फिर्ता गरिने बताए ।
कारबाहीको सट्टा बिरामीको पैसा फिर्ता गराउँदा अन्य बिरामी ठगिँदै
यस बारे वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले स्पर्श हस्पिटलले एउटा बिरमीसंग बढी शुल्क लिएको जानकारी पाएपछि सो रकम फिर्ता गराएको बताए । आफूहरू प्रत्येक दिन कसैको बिल चेक गर्न जान नसक्ने बताउँदै पीडित आफै आएको खण्डमा हामीले कारबाही गरिने बताए । उनले हस्पिटलले नियम विपरीत काम गरेको ठहरिएमा जरिवाना तथा कारबाही गरिने बताए । हस्पिटलले पटक पटक बढी शुल्क लिएको बारे आफूहरूलाई जानकारी नभएको बताउँदै हामीले आफ्नो काम गरिनै रहेको बताए ।
गल्ति गर्ने अस्पताललाई कारबाही नहुँदा अस्पतालले पटक-पटक बिरामी ठग्दै
मापदण्ड विपरीत शुल्क असुल्नेलाई छानबिन गर्न वीरगंज महानगरको अनुगमन समिति गठन भएपनि पटक-पटक बिरामीलाई ठगेको आरोपमा विवाद आएको यस अस्पतालमाथि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले जानेर पनि कुनै ठोस कदम नचालेको पीडितहरूले आरोप लगाउने गरेका छन् । कारबाही नहुँदा हस्पिटलले पटक-पटक बिरामीलाई ठगिने गरेको पीडितहरूको आरोप छ ।
अस्पतालमा उपचार गराईरहेका बिरामीहरूसँग एउटै शीर्षकमा सरकारको मापदण्डलाई धज्जी उठाउँदै फरक-फरक शुल्क उठाएर ठगी गर्दै आएको सार्वजनिक भइरहँदा पनि नियमनकारी निकाय वीरगंज महानगरको अनुगमन समिति छानबिनै नगर्दा उपचारको नाममा बिरामी ठग्दै हस्पिटललाई कारबाहीको सट्टा बिल लिएर गए पैसा फिर्ता गराउने र बाँकी बिरामीलाई फेरी ठगिन दिनुले अनुगमन समितिको कुनै औचित्य नरहेको प्रमाणित हुन्छ ।
३० मिनेटमा ३० हजार शुल्क
यस स्पर्श हस्पिटलले फेरी एक व्यक्तिलाई टाका लगाए बापत ३० हजार शुल्क लिएको सार्वजनिक भएको छ । बुधवार मोटरसाईकल दुर्घटना भई टाउकोमा चोट लागेर घाइते भएका एक युवकलाई हस्पिटल भर्ना गराउँदा ३० मिनेटमा माइनर ओटी शीर्षकमा १५ हजार, प्रोसिडर शीर्षकमा १० हजार र विभिन्न औषधी शीर्षकमा ५ हजार गरी ३० हजार रपैया शुल्क लिएको यस आघि पनि सार्वजनिक भएको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३