काठमाडाैँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू जनता र राष्ट्रप्रति प्रतिबद्ध भएको बताएका छन्।
सोमबार बानेश्वरमा बुद्धिजीवीसँगको छलफलमा बोल्दै उनले भने,‘हामीले जनता र राष्ट्रप्रति प्रतिबद्धता जनाएका छौं। राम्रो संस्कृति र राम्रो संस्कार बनाउन जरूरी छ।’
उनले प्रधानमन्त्रीको भाषण ध्यानपूर्वक सुन्नुपर्ने समेत बताएका छन्। यतिमात्र होइन उनले प्रधानमन्त्रीको भाषणमा समेत व्यंग्य कसेका छन्।
‘प्रधानमन्त्रीको भाषण बडो ध्यान दिनुपर्ने रहेछ। सबैले सिक्नुपर्ने रहेछ। चाहे सकारात्मक तरिकाले होस्, चाहे नकारात्मक। बानी र पानी माथिबाट तल बगेको राम्रो। मलाई बहुला कुकुरले टोकेको छ र भन्नु भएछ कति राम्रो। आफैं बुझ्नुस्।’
सोमबार मदन भण्डारीको ७० जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्नका लागि आफूलाई बहुला कुकुरले नटोकेको बताएका थिए।
सो क्रममा उनले भनेका थिए, ‘माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन्। अहिले धाक् के लगाएर हिँडेका छन्- केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर,’ प्रधानमन्त्री ओलीले भने,‘मलाई बहुला कुकुरले टोकेको छ र! नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला।’
नेपालले आफूहरू अरूको भन्दा फरक र संक्रमणकालीन अवस्थामा रहेको बताए।
‘हामी अरूको भन्दा फरक र संक्रमणकालीन अवस्थामा छौं। यसका बाबजुद पनि गठबन्धन कायम छ। यो विचार समूह संविधानको रक्षाको लागि लडेको छ।’
यसैगरी, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले गठबन्धन लहड र रहरले नभई आवश्यकताले बनेको बताएका छन्।
‘हामी न्यूनतम साझा कार्यक्रम बनाउने तयारीमा छौं। गठबन्धन लहड र रहर बनेको होइन यो आवश्यकताले बनेको हो। आवश्यकता पर्दा समेत रहन्छ’उनले भने।
त्यस्तै जनमोर्चाकी दुर्गा पौडेलले पनि लोभ-लालचभन्दा पनि संविधानको रक्षाको लागि आफूहरू एक भएको बताइन्।
‘हामी एक भएरै लड्छौं। यो लोभ-लालचभन्दा पनि संविधानको रक्षाको लागि हामी एक भएका हौं,’उनले भनिन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३