काठमाडौँ – भोलि साउन ६ गते मुस्लिम धर्मावलम्बीहरूको महत्त्वपूर्ण चाड बकर इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बकर इदको अवसरमा साउन ६ गते बुधवार बिदा दिने निर्णय गरेको हो। मुस्लिम धर्मावलम्बीहरुले बकर इद पर्वलाई महत्त्वका मनाउने गरेका छन्।
त्यसै गरी सरकारले मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले संसदीय सुनुवाइविनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते विभिन्न ११ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार अस्ट्रेलिया, श्रीलङ्का, दक्षिण कोरिया, इजिप्ट, डेनमार्क, बहराइन, म्यान्मार लगायत देशका लागि गरिएको राजदूत नियुक्तिको सिफारिस रद्द भएको छ ।
सरकारले भारतसँग सातामा पाँच ओटा उडान गर्ने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद् बैठकले पहिलेको दुई ओटा उडानमा वृद्धि गरेर पाँच पुर्याउने निर्णय गरेको हो ।
यसै गरी अनुदान तथा खरिद प्रक्रियाबाट थप खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकलाई आग्रह गर्ने निर्णय समेत गरिएको छ । सरकारका प्रवक्ता कार्कीले नेपाललाई खोप सहायता उपलब्ध गराउने मुलुकलाई धन्यवाद दिँदै थप खोप सहायताका लागि खोप उत्पादक मुलुकलाई आग्रह गर्ने निर्णय भएको बताए । प्रवक्ता कार्कीका अनुसार सरकारले तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फका दुई र प्राविधिक स्वास्थ्य सेवातर्फका एक गरी तीन सहसचिवलाई सचिवमा बढुवा गरेको हो । बढुवा सिफारिस समितिले सिफारिस गरेका सात सहसचिवमध्ये ज्येष्ठताका आधारमा सहसचिव किरणराज शर्मा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा सहसचिव डा. रामप्रसाद घिमिरे सचिवमा बढुवा भएका छन् । बढुवा सिफारिस समितिको केही दिनअघि बसेको बैठकले ज्येष्ठतातर्फ शर्माको नाम मात्रै सिफारिस गरेको थियो भने कार्यसम्पादनतर्फ घिमिरेसँगै दोस्रो नम्बरमा हरिप्रसाद मैनाली र तेस्रो नम्बरमा डिल्लीराज शर्माको नाम पनि सिफारिस गरेको थियो ।
प्राविधिकतर्फ स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सोमवार दिउँसो नै बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेलसँगै दोस्रो नम्बरमा डा. दीपेन्द्र रमण सिंह र तेस्रो नम्बरमा महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो । सोमवारको मन्त्रिपरिषद् बैठकले नै बाढी पहिरो प्रभावित सिन्धुपाल्चोक र मनाङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३