काठमाडौं – सरकारले दल विभाजन खुकुलो हुने गरि ल्याएको अध्यादेशविरुद्ध परेका रिटको शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।
भदौ १ गते राजनीतिक दल सम्बन्धी सम्बन्धी ऐन २०७३ मा दल विभाजनका सम्बन्धमा रहेको कठोर व्यवस्थालाई संशोधन गर्दै अध्यादेश जारी गरेको थियो।
दल फुटाउन सजिलो हुने गरि सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट परेका थिए। ती रिटको आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन्।
यसअघि दल विभाजनका लागि संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत हिस्सा पुर्याउनु पर्ने प्रावधानलाई संशोधन गरेर संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत संख्या पुगे दल फुटाउन सकिने प्रावधान राखेर अध्यादेश जारी भएको छ।
संसद अधिवेशन हठात अन्त्य गरेर जारी गरिएको अध्यादेश खारेज हुनुपर्ने माग रिट निवेदकले गरेका छन्।
अध्यादेश बदर माग गर्दै निवेदन दर्ता गर्नेमा अधिवक्ता अर्जुनकुमार अर्याल र शकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र अनुपा अर्याल, अधिवक्ता प्रवेश केसी, अधिवक्ता श्रीकान्त बराल, अधिवक्ता दलबहादुर धामी, सरोज बुढाथोकी र आशिष श्रेष्ठ रहेका छन्। निवेदनहरुमा सरकारले जारी गरेको अध्यादेश गैरसंवैधानिक भएकाले तत्काल रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको छ।
संघीय संसद्को अधिवेशन अन्त्य गरेको भोलिपल्टै अध्यादेश ल्याउनु र राजनीतिक दल विभाजन गर्ने उद्देश्य राख्नुले अध्यादेश ल्याउने संविधानको व्यवस्थाको दुरुपयोग भएको रिटमा उल्लेख छ।
सरकारले अध्यादेश जारी गरेलगत्तै नेकपा एमाले र जनता समाजवादी पार्टी फुटेर दुई नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन्।
एमालेबाट विद्रोह गरेका माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएको छ भने जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी निर्माण भएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३