महोत्तरी – गत ८ भदौमा सामान्य पेट दुखेर उपचारका लागि शुभस्वस्तिक अस्पताल पुगेका गोपाल बरालले उपचार गर्दागर्दै आफ्ना छोरा बासु बरालको अवस्था यति गम्भीर हुन्छ भनेर कल्पनासमेत गरेका थिएनन् ।
सामान्यभन्दा बढी नै पेट दुख्न थालेपछि गोपालले छोरालाई अस्पताल भर्ना गरेका थिए । डाक्टरको सल्लाहबमोजिम गत सोमबार उनले आफ्ना छोराको शल्यक्रिया गर्न अनुमति दिए । शल्यक्रिया भएपछि छोराको स्वास्थ्य अवस्था सुधार होला भन्ने आशा गरेका बराल त्यसबेला चिन्तित भए, जब छोरा बासुको स्वास्थ्य अवस्था नाजुक बन्दै गयो ।
पेट सामान्यभन्दा बढी सुन्निएर स्वासप्रस्वासमै समस्या उत्पन्न भएपछि बरालले चिकित्सक र अस्पताल सञ्चालक दिपक कार्कीसँग थप सल्लाह लिए । अस्पताल र कार्कीले उपचार भइरहेको र १२ घन्टापछि अवस्था ठिक हुँदै जाने भनेर आश्वस्त पारे । २४ घन्टापछि पनि ठिक नभएपछि बरालमा चिन्ता बढ्दै गयो । छोराको अवस्थामा कुनै सुधार नभएपछि बरालले आत्तिँदै अस्पतालका सञ्चालक कार्कीलाई एम्बुलेन्स व्यवस्थापन गरिदिन अनुरोध गरे । तर, कार्कीले बिरामीलाई ठिक हुने जिद्दि छाडेनन् ।
‘त्यसपछि मैले नै जिद्दी गरेर १० भदौमा तुरुन्त धुलिखेल अस्पतालमा लैजाने निधो गरें,’ बरालले भने ।
सुभ स्वस्तिक अस्पतालमा भएको लापरबाहीको विषयमा जब धुलिखेल अस्पतालका चिकित्सकले बताए, तब बराल छाँगाबाट खसे जस्तै भए । ‘तपाईले बिरामीलाई ल्याउन अलिकति मात्र पनि ढिला गरेको भए ज्यान बचाउन मुस्किल हुन्थ्यो, बिरामीको अवस्था अत्यन्त गम्भीर छ,’ चिकित्सकको भनाइ उद्धृत गर्दै बरालले भने ।
धुलिखेल अस्पतालका चिकित्सकका अनुसार एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने क्रममा आन्द्रालाई समुचित ढंगले नबाँधेको र सफा नगरेको हुनाले अत्यन्त जटिल समस्या देखिएको हो । आन्द्रा नबाँधेकाले दिसा, पिसाब पेटभरि फैलिएको र मृगौलामा समेत गम्भीर असर पार्दै गएको देखिएको उपचारमा संग्लन चिकित्सकहरुले बताए ।
सिटिस्क्यान गर्दासमेत पेटभरि फोहोर भरिएको हुनाले देख्न नसकिएको र अनुमानका भरमा थप शल्यक्रिया गरी आन्द्रा बाँधेर र सफा गरेपछि अहिले स्वास्थ्यवस्थामा क्रमशः सुधार हुँदै गएको परिवारको भनाइ छ ।
बर्दिबासका निजी अस्पतालले उपचारमा चरम लापरबाही गर्दै आएको विषयमा पटक पटक सर्वसाधारणबाट गुनासो आउने गरेको छ । ‘म त सचेत मान्छे थिएँ र पो अस्पतालको बदमासी थाहा पाएँ, अन्य सर्वसाधारण कति ठगिएका होलान्, कति पीडित बनेका होलान्, त्यसको लेखाजोखा नै गर्न नसकिने अवस्था छ,’ गोपाल बरालले भने ।
अस्पताल प्रमुख दिपक कार्कीले भने बदमासी नभएको दाबी गरे । ‘हाम्रै सल्लाहमा बिरामीलाई धुलिखेल अस्पताल लगिएको हो,’ उनले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३