नेपाली काँग्रेसले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सघाउन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।
सभापति शेरबहादुर देउवासहितका नेताले गएराति प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर प्रचण्डसमक्ष उक्त प्रस्ताव राखेका हुन् । राष्ट्रपति उम्मेदवारलाई लिएर सत्तारुढ गठबन्धनबीच दरार पैदा हुनै लागेका बेला काँग्रेस नेतृत्वबाट आएको प्रस्तावलाई अर्थपूर्ण मानिएको छ ।
एक काँग्रेस नेताका अनुसार सभापति देउवाले राष्ट्रपतिमा आफ्नो दलका उम्मेदवारलाई समर्थन गरे प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्रीमा टिकाउने प्रतिबद्धता गरेका छन् । प्रचण्डले भने पार्टीमा छलफल गरेर जवाफ दिने बताए ।
सत्तारुढ एमालेले वर्तमान सरकार गठनअघि भएको सहमतिअनुसार आफूले अघि सारेका व्यक्ति राष्ट्रपति हुनुपर्ने अडान लिँदै आएको छ । माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने र पार्टीप्रति बफादार व्यक्ति राष्ट्रपति हुन नहुने बताउँदै आएको छ ।
गत २६ पुसमा प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको काँग्रेसले संसदको ठूलो दलको हैसियतले राष्ट्रपतिमा आफ्नो दाबी स्वभाविक बताएको छ । काँग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल वा पूर्व उपसभापति कृष्णप्रसाद सिटौलामध्ये एकलाई राष्ट्रपति उम्मेदवारमा अघि सार्ने सम्भावना छ । नयाँ राष्ट्रपति चयनका लागि २५ फाल्गुनमा निर्वाचन हुँदैछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३