राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् ।
आज अपराह्न वसन्तपुरस्थित कुमारी घर पुगेर राष्ट्रपति पौडेलले कुमारीको दर्शन गर्दै प्रसाद ग्रहण गरेका हुन् ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीका अनुसार राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए ।
राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् । राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगरी गएका थिए ।
कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्किए । उनले पहिलोपल्ट कुमारी घरमा चिया पिएका हुन् । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।
यसअघि आजै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाई पनि दिएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्याउने परम्परा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३