भोलि मंसिर ७ गते दुइवटा समूहले आयोजना गर्ने प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा निगरानीलाई रणनीतिक तरिकाले व्यवस्थापना गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।
नेकपा एमाले निकट युवा संघ र झापाको बिर्तामोडस्थित बिएनसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले त्यसदिन काठमाडौंमा ठूलो संख्यामा मानिसहरु भेला गरेर प्रदर्शन गर्ने घोषणा गरेका छन्। युवा संघका नेता महेश बस्नेत र प्रसाईंवीच केही समयअघि परस्पर शक्ति प्रदर्शनको शैलीमा वादविवाद पनि भएको थियो। त्यसपछि दुइ समूहका अगुवाले भोलि ७ गते काठमाडौंमा ठूलो संख्यामा मानिसहरु उतारेर आफ्नो शक्ति प्रदर्शन गरेर एकअर्कालाई देखाउने धम्की दिएका छन्।
उपत्यका बाहिरबाट धेरै मानिसहरु काठमाडौंमा जम्मा भएर दुइ समूहको शक्ति प्रदर्शन हुँदा तनाव उत्पन्न हुने र सम्भावित अराजकतालाई समेत ध्यानमा राखेर नेपाल प्रहरीले नियमित सुरक्षा प्रवन्धलाई रणनीतिक तरिकाले फेरबदल गरेर व्यवस्थित गरेको जनाएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले एकिकृत सुरक्षा योजना अनुसार उपत्यकाका तीनवटै जिल्लालाई आवश्यक परेका बेला थप मद्दत दिने गरी सुरक्षा प्रवन्ध गरिएको बताए। जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सुरक्षा अवस्थाबारे गरेको विश्लेषण अनुसार विशेष अवस्थामा थप मद्दतको आवश्यकता जनाएमा उपत्यका प्रहरी कार्यालयले सहयोग गर्ने तयारी गरेको प्रवक्ता मैनालीले जानकारी दिए।
प्रदर्शनमा काठमाडौंका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थलहरुमा उपत्यका बाहिरबाट आएका मानिसहरुको जमघट हुँदा सम्भावित घुसपेठबाट तनाव उत्पन्न हुनसक्ने प्रहरी अनुमान छ। ती स्थानहरुलाई निगरानीमा राखेर प्रहरीले तैनाथी गरेको बताईएको छ।
दुर्गा प्रसाईं समूहले राजधानी बाहिरबाट मान्छे ल्याउने र त्यहाँ आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरु पनि मिसिने सम्भावनाको सूचना पाएकाले प्रहरीले निगरानी बढाउँदै सुरक्षा बढाएको बताएको छ।
प्रसाईं समूहलाई विभिन्न धार्मिक संस्थाहरु र राजसंस्था पुनर्वहालीको माग गरिरहेको समूहले समर्थन गरेको सूचना पाएसँगै धार्मिक दंगा र हिंसा नभड्कियोस भनेर सार्वजनिक पाटी पौवा, धर्मशाला, पार्टी प्यालेस जस्ता स्थानलाई प्रहरीले उच्च निगरानीमा राखेको सम्बध्द सूत्रले बताएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३