काठमाडौं – चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् ।
सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत सञ्चालन गरेका थिएनन् । आफूहरूको माग मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै महासंघले यातायात सञ्चालनको तयारी थालेको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले दुईरतीन दिनको तयारीपछि यातायात सञ्चालन गर्ने जानकारी दिए । उनले भने, “हामी भोलि र पर्सि सरकारसँग छलफल गरेर सम्भवत ६ गतेबाट गाडी चलाउँछौँ । मौद्रिक नीति ठीक छ तर लामो दूरीको पनि खोल्नुपर्छ, जिल्लाभित्रको खुलेर मात्र हुँदैन । ”
सरकारले मौद्रिक नीतिमार्फत यातायात क्षेत्रको बैंक सावाँ र ब्याज छ महिनादेखि एक वर्षसम्म समय थप गर्ने भएको छ । सहुलियतपूर्ण कर्जा, पुनर्कर्र्जाको व्यवस्था गरेको छ । कोरोनाबाट अति प्रभावित पेसा व्यवसाय सञ्चालनका लागि ५० अर्ब रुपियाँको कोष सञ्चालनमा ल्याएर यातायात क्षेत्रलाई पनि समेटिएको छ । जसले गर्दा यातायात सुचारु गर्न सहज भएको महासंघले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७