काठमाडौं – कोरोना भाइरसको जोखिम बढ्दै गएपछि देश फेरि लकडाउनतर्फ उन्मुख भएको छ । स्वास्थ्य क्षेत्रका विज्ञ र जानकारहरुले पछिल्लो समय कोरोना भाइरस झन् खतरनाक बनेको र समुदायमा फैलन थालेको भन्दै केही समय लकडाउनको सुझाव दिएपछि सरकार गम्भीर भएको छ ।
स्वास्थ्य मन्त्रालयमा समेत लकडाउनबारे छलफल भएको छ । ७ साउनबाट लकडाउन अन्त गरिएपनि फेरि कडाई गर्नुपर्ने सुझावहरु दिइएको बुझिएको छ । त्यसबारे थप छलफलका लागि मन्त्रिपरिषद्सम्म प्रस्ताव लाने तयारी बढेको स्रोतले जानकारी दिएको छ ।
विराटनगर महानगरपालिकामा आज मध्यरातिबाट लागु हुने गरी दुई हप्ता लकडाउन घोषणा भइसकेको छ । वीरगञ्ज महानगरपालिकामा पनि कडाई गरिएको छ ।
काठमाडौं उपत्यकामा राति प्रवेशमा कडाई गरिएको छ । अब उपत्यकामा कोरोना संक्रमण फैलिन थालेपछि लकडाउनको तयारी भएको बुझिएको छ । उपत्यकामा दिनहुँजसो संक्रमितको संख्या बढेको छ ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण खतरनाक देखिएको छ । बितेको २४ घन्टामा चार जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या बढ्दै गएपछि जोखिम बढेको छ । यसलाई दृष्टिगत गरी सरकारमाथि रोकथामको उपाय अबलम्बन गरी लकडाउन फेरि गर्न दबाब बढेको हो ।
यसअघि हिजो आपूर्तिमन्त्री लेखराज भट्टले रिपोर्टर्स क्लब नेपालमा बोल्दै जोखिम हेरेर कोरोना रोकथामका लागि निश्चित स्थानमा निश्चित समय निर्धारण गरी लकडाउन आवश्यकता अनुसार लगाइने खुलाएका थिए । उनले भनेजस्तै सकरारले देशैभर लकडाउन नगरेपनि निश्चित स्थानमा जोखिमलाई दृष्टिगत गरी लकडाउन गर्ने नीति बनाइसकेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७