रुकुम – सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गर्ने एक गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन रहेका छन् ।
बाहिरबाट ताला लगाई अनावश्यकरूपमा कागजात मिलाउँदै गरेको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला ल्याएको छ । लेखापाल केसीले गत वर्ष २०७६/७७ को बजेटबाट रु. २४ लाख ९२ हजार ३७२ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेका थिए ।
विभिन्न शीर्षकमा अनाधिकृतरूपमा उनीहरुको खातामा जम्मा भएको उक्त सरकारी रकम उनीहरुले गाउपालिकाकै खातामा जम्मा गरेका थिए । उक्त रकमको कागजात मिलाउने क्रममा उनीहरु पक्राउ परेका हुन् । बिना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि गाउँकार्यपालिकाले चासो व्यक्त गरेको थियो ।
अहिले जिल्ला प्रशासन कार्यालयले छानबिनसमेत थालेको छ । रातको समयमा काम गरिरहेको खबर आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए । रातको समयमा कार्यालय जानुका कारण खोजी भइरहेको उनले बताए । कार्यालय समय १०–५ हो, तर रातिमा पनि कार्यालयमा आएपछि त्यसको कारण खोजी गरिरहेका छौँ”, उनले भने, “कर्मचारी मात्र नभई परिवारका सदस्यसमेत कार्यालयमा भटिनुले कुनै रहस्य लक्षित गर्छ, अनुसन्धान भइरहेको छ ।”अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र दिउ“सो थप अनुसन्धान गरिने जनाइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७