काठमाडौं – सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले पूर्वमन्त्री मोहनबहादुर बस्नेतको परिवारलाई स्वाब संकलनमा सहयोग गर्न आग्रह गरेको छ ।
बस्नेतका बुबा खड्गबहादुरको उपचारका क्रममा २२ गते मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको थियो । परिवारले बाह्रबिसे लगेर अन्त्यष्टि गरे । तर पाँच दिनपछि मृतकमा कोरोना संक्रमण पुष्टि भयो ।
बुधबार जिल्ला जनस्वास्थ्य कार्यालयको टोली स्वाब संकलनका लागि गएको थियो । शव अन्त्येष्टिमा सहभागी २१ जनाको स्वाब संकलन भएपनि परिवारले मृत्यु संस्कार लगायतका कारण देखाउँदै स्वाब दिन अस्वीकार गरेको थियो ।
नगरपालिकाका मेयर निमाफुन्जो शर्पाले बिहीबार वक्तव्य जारी गर्दै स्वाब संकलनमा सहयोग गर्न आग्रह गरेका छन् । परिवारले स्वाब दिन नमान्दा सहभागी मलामी र नगरबासीमा त्रास रहेको भन्दै उनले भनेका छन्, ‘नगरवासी र अन्यको स्वास्थ्यप्रति सजग हुनु सुरु गरिएको स्वाब संकलनमा सहयोग गर्नु मृतकका परिवारसहित संक्रमणको जोखिममा रहेका सबैको दायित्व पनि हो ।’
अस्पताल र स्वास्थ्य मन्त्रालयप्रति परिवारको मतभेद वा गुनासो हुनसक्ने भन्दै मेयरले समन्वयका लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने समेत बताएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७