काठमाडौं – नेपाल एयरलाइन्सले सोमबार वाई-१२ चिनियाँ जहाजको परीक्षण उडान गरेको छ । काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको नयाँ जहाज मौसमको प्रतिकुलताका कारण लुक्लामा अवतरण हुन नसकी रामेछापको मन्थलीमा अवतरण भयो ।
परीक्षण उडानका लागि चालक दलका सदस्य र प्राविधिकसहित १० जनालाई बोकेर उडेको चिनियाँ विमान बाक्लो हुस्सु र बादलका कारण लुक्लामा अवतरण हुन नसकी रामेछापको मन्थली विमानस्थलमा अवतरण भएको थियो । मन्थलीबाट काठमाडौं फर्काइएको विमान मंगलबार बिहान साढे ५ बजे फेरि लुक्ला जाने निगम स्रोतले बतायो ।
सोमबारको परीक्षण उडानको नेतृत्व क्याप्टेनद्वय आङ नुरी शेर्पा र उद्वव घिमिरेले गरेका थिए । जहाजको परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको पाइटललाई उद्धृत गर्दै निगम स्रोतले बतायो । निगमका एक कर्मचारीले भने- ‘यो हाम्रा लागि निकै ठूलो उपलब्धि र खुशीको कुरा हो, अब थन्किएको जहाज नियमित रुपमा उड्नेछ ।’
चीनबाट ल्याइएको १६ यात्रु बोक्ने क्षमताको वाई-१२ टि्वनअटर जहाज अहिलेसम्म परीक्षण उडान हुन नसकी थन्किइरहेको थियो । सुगतरत्न कंसाकारले व्यवस्थापन राम्रो गर्न नसकेको आरोप लागिरहेका बेला निगमको कार्यकारी अध्यक्षमा मदन खरेल आएको एकसाता नबित्दै थन्किएको जहाजको परीक्षण उडान सुरु गरिएको हो ।
मंगलबार बिहान लुक्लाको परीक्षण उडान सकिएपछि रारा, डोल्पा, सिमिकोट र जोमसोममा पनि परीक्षण उडान गरिने र त्यसलगत्तै यात्रुहरुका लागि व्यवसायिक उडान सुरु गरिने वायु सेवा निगम स्रोतले बतायो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३