काठमाडौँ– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताएका छन् ।
प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आज यहाँ आयोजित समापन कार्यक्रममा उनले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताए । ‘सङ्गठनभित्र गल्ती गर्नेलाई कारवाही नगरेसम्म प्रहरी सङ्गठन राम्रो हुँदैन’, उनले भने ।
महानिरीक्षक खनालले नेपाल प्रहरीको मान, सम्मान, इज्जत प्रतिष्ठालाई अगाडि बढाउनका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्ने बताए । ‘लोभ, लालच नगरी हरेक नागरिकको दिलमा बस्ने गरी काम गर्नुपर्छ,’ उनले भने ।
महानिरीक्षक खनालले प्रहरीभित्रको सञ्चालन हुने खेलकूद गतिविधिलाई सबै प्रदेशमा लैजान आफूले प्रहरी प्रधान कार्यालयबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको स्पष्ट पारे । नेपाल प्रहरीमा लागेर खेल खेल्ने खेलाडीको भविष्य उज्वल रहेको उनको भनाइ थियो ।
राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातले नेपाल प्रहरीले खेललाई प्राथमिकता दिएको बताए । प्रहरीभित्र खेलाइने खेलले राष्ट्रिय खेलको विकासमा समेत मद्दत पुग्ने उनको भनाइ थियो । असोज १७ देखि सञ्चालन भएको खेल आज सकिएको हो ।
कूल १० टोली रहेको उक्त खेलमा ५ नं प्रदेश प्रहरी कार्यालय दाङले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३–२ को सेटले हराएको थियो । प्रतियोगिताको प्रथम टिमलाई रु ५० हजार, प्रमाणपत्र र मेडल, दोस्रो टिमलाई रु ३५ हजार, प्रमाणपत्र र मेडल तथा सर्वोत्कृष्ट खेलाडीलाई रु दश हजार नगद प्रदान गरिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३