सरकारले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक २५ प्रतिशत वृद्धि गरेको छ । आईतबार बसेको मन्त्रीपरिषद बैठकले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारश्रमिक २५ प्रतिशत वृृद्धि गर्ने निर्णय गरेको हो ।
श्रमजीवि पत्रकार र सञ्चार क्षेत्रमा काम गर्नेहरुलाई न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । यस अघि श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय तोकिएकोमा सरकारको यो निर्णयसँगै अब उनीहरुको न्यूनतम पारिश्रमिक २४ हजार ३ सय पुगेको छ । प्रवक्ता बास्कोटाले सरकारको सो निर्णय कार्तिकबाट लागू हुने जानकारी दिए ।
गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा भण्डारी
बैठकले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार, लेखक एवम् स्तम्भकार कृष्णमुमारी भण्डारीलाई नियुक्त गरेको छ । गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्दै भण्डारीलाई सो पदमा नियुक्त गरिएको हो । मन्त्रीपरिषद बैठकले संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायसँग ३ दिने स्पष्टीकरण पनि मागेको छ ।
चिनीको मूल्यसम्बन्धि समस्या समाधान गर्न कार्यदल गठन
सरकारले उखु उत्पादक किसान, चिनी उद्योग र उपभोक्ताको हित संरक्षणका लागि आवश्यक रणनीति तय गर्न राष्ट्रिय योजना आयोकका कृषिसम्बन्धि सदस्यको संयोजकत्वमा उद्योग, कृषि, अर्थ मन्त्रालयका सहसचिव र उखु किसान संघ, चिनी उद्योग संघ र उपभोक्तासँग सम्बन्धित संस्थाहरु रहेको ७ सदस्यीय कार्यदल पनि गठन गरेको छ । चिनी र चिनीको मूल्यसम्बन्धि समस्या समाधान गर्न सरकारले सो कार्यदल गठन गरेको हो ।
विश्व बैंकबाट ऋण सहायता लिने अख्तियारी अर्थ सचिवलाई
मन्त्रीपरिषद बैठकले उर्जाको क्षेत्रमा लगानी बढाउन विश्व बैंकबाट ११ अर्ब ६३ करोड ऋण सहायता लिनेसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्ने अख्तियारी अर्थ सचिवलाई दिने निर्णय पनि गरेको छ । त्यसैगरी सिन्धुली सडक सुधारका लागि जापान सरकारले दिने एक अर्ब ४ करोड अनुदान सहायता स्वीकृत पनि गरिएको सरकारका प्रवक्ता बास्कोटाले जानकारी दिए ।
लगानी कोषको सञ्चालकमा भट्टराई
सरकारले नागरिक लगानी कोषको सञ्चालकमा डा. रामचन्द्र भट्टराईलाई नियुक्ती गर्ने निर्णय पनि गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको ७३ औं महासभा बैठक र कोष्टारिकामा आफू नेतृत्वको प्रतिनिधिमण्डलले गरेको भ्रमणबारे मन्त्रीपरिषद बैठकमा जानकारी गराएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३