शुक्रबार प्रहरीले छापा मारेको काठमाडौंको कागेश्वरी–७ मूलपानीस्थित जुवाखाल डिएसपी श्यामकुमार राईकै संरक्षणमा सञ्चालन भएको खुलेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी राईले हरेक साता मोटो रकम असुल्दै जुवा सञ्चालन गर्न दिएको प्रहरी उच्च स्रोतले बतायो ।
मूलपानीमा तेण्डु शेर्पाको घरमा अवैध जुवा चल्ने गरेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले शुक्रबार राति साढे ९ बजे छापा मारेको थियो । प्रहरी आएको खबर पाएपछि घरको तीन तलामाथिबाट हामफालेर भाग्न खोज्दा काठमाडौं महांकालका ४३ वर्षीय सरोज घले र सिन्धुपाल्चोक इन्द्रावती–१ का ३८ वर्षीय सोमलाल तामाङको ज्यानै गयो । प्रहरीले एक महिलासहित २४ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी स्रोतका अनुसार डिएसपी राईले नै जुवा सञ्चालनमा संरक्षण गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले कार्यालयमै बोलाएर पटक–पटक सचेत गाएका थिए । तर, उनले निर्देशन नमानेपछि शुक्रबार विशेष टोलीले छापा मा-यो । यो खबर डिएसपी राईलाई दिएको थिएन ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने, ‘शुक्रबार मूलपानीमा जुवाखाल सञ्चालन भइरहेको सूचना आयो । हामीले मातहत रहेको बौद्ध वृत्तलाई पनि खबर गरेनौँ । यसका केही कारण थिए । परिसरबाट अप्रेसन टोली खटियो । नभन्दै जुवाखाल सञ्चालन भइरहेको ठाउँ भेटियो ।’
हेमा गुरुङबाट रकम बुझ्थे राई
प्रहरी स्रोतका अनुसार दोलखा गौरीशंकर–६ की हेमा गुरुङ जुवाको पेसेवर सञ्चालिका हुन् । उनको टोलीमा मकवानपुर छतिवन–६ की ३५ वर्षीया सर्मिला खड्का पनि साझेदार छिन् । उनीहरूले हप्ता बिराएर जोरपाटी, बौद्ध, ठिमी, गोठाटारलगायत स्थानमा जुवाखाल सञ्चालन गर्दैै आएका थिए ।
उनीहरूलाई अवैध धन्दा सञ्चालनमा छुट दिएबापत डिएसपी राईले रकम असुल्थे । राईकै साथ पाएपछि टोलीले केही साताअघिदेखि मूलपानीमा जुवा सञ्चालन गर्दै आएका थिए । मुख्य सञ्चालिका गुरुङ भने फरार छिन् ।
प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले फरार गुरुङ पेसेवर जुवा सञ्चालिका रहेको बताए । उनले भने, ‘जुवाखालको सञ्चालक हेमा गुरुङ हुन् । उनी भने भाग्न सफल भइन् । उनको खोजी भइरहेको छ । उनले यसअघि पनि विभिन्न स्थानमा जुवा खेलाउने गरेको सूचना प्राप्त भएको छ ।’
जुवाखाल सञ्चालन भएको घरमालिक रिलुम शेर्पाले पनि गुरुङ पेसेवर जुवा सञ्चालिका भएको स्विकारेकी छिन् । उनका अनुसार गुरुङले निश्चित अवधिको फरकमा विभिन्न स्थानमा जुवा सञ्चालन गर्दै आएकी छिन् । २ दिनअघि गुरुङले यही सिलसिलामा आफ्नो घरमा आएर जुवा खेलाउन सुरु गरेको उनले बताइन् ।
जुवाडेहरूलाई पनि उनी आफैँले बोलाउने गरेको बयान उनले प्रहरीलाई दिएकी छिन् । एकपटक जुवा खेलाएबापत १० हजार रुपैयाँ दिने बचन दिए पनि उक्त रकम भने प्राप्त नभएको शेर्पाको भनाइ छ ।
उनले भनिन्, ‘उनीसँग मेरो पुरानो चिनजान हो । हाम्रो गाउँ एकै ठाउँ हो । उनले जुवा खेलाउने गरेको मलाई यसअघि पनि थाहा थियो । केही दिनअघि मलाई फोन गरेर जुवा खेल्न दिनुप-यो भनेर प्रस्ताव गरिन् । मैले हुन्न भनेँ । तर, रमाइलो हुने र केही पैसा पनि पाइने भनेपछि मानेँ । उनीहरू २ दिनअघिदेखि यहाँ आउन थालेका हुन् । साँझ आउँथे । सबै जुवाडेलाई उनले नै बोलाउँथिन् । बैठक कोठामा जम्मा हुन्थे, अनि कौडा हान्थे ।’
श्रीमान् कोरियामा कमाउने, हेमा जुवामा उडाउने
प्रहरीका अनुसार जुवालतकै कारण हेमाको श्रीमान्सँग डिभोर्स भएको हो । उनका श्रीमान् केही वर्ष पहिले वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरिया गएका थिए । उनले श्रीमतीको नाममा रकम पठाउँथे । तर, हेमा उक्त रकम जुवामा उडाउँथिन् । भेद खुलेपछि उनका श्रीमान् केरियाबाट फर्के ।
केही महिना निगरानीमा बसे । तर, लत नसुध्रिएपछि गुरुङ दम्पती कानुनी रूपमा अलग भएका थिए । त्यसपछि भने गुरुङ निस्फिक्री जुवा सञ्चालनमा संलग्न हुँदै आएकी थिइन् । एकै स्थानमा जुवा खेलाउँदा सुराकी हुने र प्रहरीबाट समातिने डर भएपछि उनले प्रत्येक साता फरक–फरक लोकेसनका घरमा जुवा सञ्चालन गर्ने गर्थिन् ।
के भयो शुक्रबार ?
घरधनी रिमुल शेर्पाका अनुसार सँधैझैँ हेमा गुरुङ साँझपख उनको घर आइन् । उनीसँग अर्की पनि एक महिला थिइन् । उनी आएको केहीबेरमै अन्य अपरिचित पनि आए । सबै बैठक हलमा बसे । कोही सोफामा बसे, कोही बिछ्याइएको गलैँचामा ।
साढे ८ बजेतिरबाट जुवा सुरु भयो । चुरोटको सर्कोसँगै हेमा आफैँ कौडा हान्थिन् । करिब १ घन्टा खाल चलेपछि कसैले प्रहरी आएको हल्ला गर्यो । तल कैँचीगेट लगाइएको थियो । प्रहरी केहीबेर त्यहीँ अलमलियो । त्यसक्रममा भागदौड मच्चियो । केहीबेरमै प्रहरी खालमा छिर्यो । जुवाडे अर्को कोठामा लुकेका थिए । केही माथि उक्लिएका थिए ।
पेस्तोल देखाउँदै प्रहरीले सबैलाई बैठक कोठामा जम्मा गरे । केहीबेरमै केही खसेजस्तो ठूलो आवाज सुनियो । म डराएको थिएँ । के भएको हेर्नै सकिनँ । पछि थाहा भयो, घरको तेस्रो र चौथो तलाको पछाडितर्फको झ्यालबाट दुई जुवाडे खसेका रहेछन् ।
उनीहरू भाग्नेक्रममा आफैँ खसे या प्रहरीले धकेलेको हो, थाहा भएन । पछि दुवैलाई अस्पताल लगियो भन्ने सुनेँ । पछि थाहा भयो, प्रहरीले नै उनीहरूलाई अस्पताल लगेको रहेछ । बिहान पो ती दुवैजनाको मृत्यु भएको सुनेँ ।
कस्तो छ घटनास्थल ?
कागेश्वरी मनोहरा–७ को मूलपानीस्थित पीपलबोटबाट करिब ७ सय मिटर उत्तरपूर्व ध्वजापताका टाँगिएका पाँच घर झुरुप्प छन् । बीचको घरको तेस्रो तलामा प्रहरीले छापा मारेको हो । घटनास्थल पुग्दा जुवा खेलाइएको बैठक सफाचट देखिन्थ्यो ।
बैठक सामुन्नेको एउटा कोठामा भने ताला मारिएको थियो । ताला प्रहरीले लगाएको रहेछ । प्रहरीको अनुमतिमा ताला खोलियो । ढोकाछेउमै राखिएको दराजको एउटा ह्यान्डल भाँचिएको छ । ह्यान्डलमा रगतका टाटा प्रस्ट देखिन्थे ।
भुइँमा बिछ्याइएको सेतो गलैँचामा पनि रगतका टाटा थिए । झ्यालतर्फको सोफाको तल पनि रगत लागेको थियो । झ्यालमा ग्रिल लगाइएको छैन । झ्यालको ठीक तल गलैँचा बुन्ने तान छ । तान भएको ठाउँमा जस्ताको छाना छ । छानाको एउटा जस्ताको पाता तल झरेको देखियो । त्यसको ठीक तल फलामको ग्रिल छ ।
प्रहरीका अनुसार दुई जुवाडे सोही झ्यालबाट तल झरे । आकाशतर्फ फर्किएको ग्रिलमा उनिए । सोही चोटका कारण उनीहरूको मृत्यु भयो । तर, घटनास्थल हेर्दा तेस्रो र चौथो तलाको झ्यालबाट तल रहेको जस्ताको टहरोमा हामफल्न त्यति सजिलो देखिँदैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३