नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले रामवीर मानन्धरको राजीनामा र वामदेव गौतम काठमाडौं-७ बाट चुनाव लड्ने लफडा सकिएको बताएका छन्।
शुक्रबार कागेश्वरी मनहरा नगरपालिकामा आयोजित दसैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै दाहालले वामदेव आफैंले चुनाव नलड्ने बताएकाले यो लफडा अब सकिएको बताए।
‘रामवीरको राजीनामा र वामदेव चुनाव लड्ने कुरा सकियो अब। यसमा केही टेन्सन लिनुपर्दैन,’ दाहालले भने, ‘हिजो वामदेवजीले चुनाव लड्दिनँ भनिसक्नुभयो। यो लफडा सकियो। हामी अब देश विकासमा लाग्छौं।’
यसअघि बर्दिया-१ बाट पराजित नेकपा नेता वामदेव गौतमलाई संसदमा ल्याउन भन्दै काठमाडौं-७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पदबाट राजीनामा घोषणा गरेका थिए। पार्टीभित्र र बाहिरबाट उप-चुनावको चर्को आलोचना भएपछि वामदेव चुनाव लड्ने निर्णयबाट पछि हटेका थिए।
दाहालले सरकार अब सानातिना भनिएका काममा केन्द्रित गर्नेमा लाग्ने बताए।
‘जनताले त सडकमा भएका खाल्डा किन पुरिएन। धुलो किन उड्यो भन्ने कुरा हेर्छ,’ दाहालले भने, ‘दसैंपछि हामी त्यस्ता काममा लाग्छौं। सरकारको वर्ष दिन नपुग्दै जनतालाई महसुस हुने गरी काम गर्छौं।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७