सर्वसाधारणका लागि माथिल्लो तामाकोसीको साधारण सेयर (आइपिओ) कात्तिक १५ गतेदेखि निश्कासन हुने भएको छ।
कुल १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निश्कासन गर्न लागिएको बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ। छिटोमा कात्तिक १९ गते र ढिलोमा मंसिर १४ गते निश्कासन बन्द हुनेछ।
एक आवेदकले कम्तीमा ५० कित्ता अर्थात ५ हजार रुपैयाँको र बढीमा १ हजार कित्ता अर्थात १ लाख रुपैयाँसम्मका लागि आवेदन दिन पाउने छ। आफ्नो खाता भएको तथा सिआस्बा सदस्य जुनसुकै बैंकबाट आवेदन दिन सकिनेछ।
यसअघि उसले आयोजना प्रभावित स्थानीयका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निश्कासन गरेको थियो। त्यसअघि गत फागुनमा विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र संचयकोषका निक्षेपकर्ता तथा कर्मचारी र बीमा संस्थानका कर्मचारीका लागि आयोजनाले ६० लाख ६ हजार कित्ता सेयर निश्कासन गरेको छ।
४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीकोको काम ९५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ। दोलखाको लामाबगरमा बनेको सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको छ।
यद्यपी आयोजना सकिँदासम्म लागत भने दोब्बर पुग्ने भएको छ। ३५ अर्बको लागत अनुमान रहेकोमा ६५ अर्ब नाघ्ने अनुमान छ। भूकम्प तथा नाकाबन्दीको असर, डलरको मूल्यबृद्धि लगायतका कारणले लागत महँगो पर्न गएको आयोजनाको दावी छ।
हाइड्रोपावरमा जारी पुँजीको ४१ प्रतिशत नेपाल विद्युत प्राधिकरण, ६ प्रतिशत टेलिकम, २ प्रतिशत राष्ट्रिय बिमा संस्थान तथा २ प्रतिशत नागरिक लगानी कोषले गरी कुल ५१ प्रतिशत स्वामित्व लिएका छन्।
बाँकी ४९ प्रतिशतमध्ये कर्मचारी संचयकर्ताका लागि १७.२८ प्रतिशत, ऋण दिने संस्थाका कर्मचारीलाई २.८८, विद्युत प्राधिकरण तथा कम्पनीका कर्मचारीलाई ३.८४ प्रतिशत, आयोजना प्रभावितका लागि १० र सर्वसाधारणका लागि १५ प्रतिशत सेयर प्रदान हुने कम्पनीले जनाएको छ।
आगामी पुसभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। पहिलो चरणको आयोजना सम्पन्न भइसकेपछि दोस्रो चरणमा रोल्वाङ खोलाबाट १६७ मेगावाटको विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७