सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेसँगै अर्थमन्त्री युवराज खतिवडा अर्को सातादेखि मन्त्री रहने/नरहने अनिश्चित भएको छ।
दुई वर्षअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य बनेका खतिवडाको कार्यकाल फागुन २० गते सकिँदैछ। नेकपाले उनको ठाउँमा गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपछि उनको भविष्य के हुने भन्ने प्रश्न उठेको हो।
‘सुखी नेपाली समृद्ध नेपाल’को नारा दिएका प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा दख्खल राख्ने भएकाले पार्टी राजनीतिभन्दा बाहिर रहेका खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए।
पछिल्लो समयसम्म खतिवडाले प्रधानमन्त्रीको उक्त विश्वासलाई कायम राखेको देखिन्छ। त्यही भएर अघिल्लो साता कमिसन काण्डमा गोकुल बाँस्कोटाले राजीनामा दिएपछि ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पनि खतिवडालाई नै दिएका छन्।
अब पनि खतिवडालाई मन्त्री राख्ने की हटाउने भन्ने कुरा प्रधानमन्त्री ओलीको इच्छामै भर पर्ने देखिन्छ।
संविधानविद् विपिन अधिकारीले प्रधानमन्त्रीले चाहे खतिवडालाई थप छ महिना अर्थमन्त्री बनाउन संविधानले नरोक्ने बताए।
‘संविधानअनुसार सांसद नभएको व्यक्ति ६ महिना मन्त्री बन्न सक्छ,’ अधिकारीले भने,‘त्यसरी मन्त्री बन्ने हो भने खतिवडाले फेरि मन्त्रीको सपथ लिनुपर्छ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३