काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने विषयमा बालुवाटारमा बुधबार भएको मतभेदपछि नेकपाका शीर्ष नेताहरु बिहीबार एउटै मञ्चमा प्रस्तुत हुँदैछन्।
राजधानीको यलम्बर पार्टी प्यालेसमा बिहीबार दिउँसो आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधव नेपाललगायतका नेताहरुले संयुक्त रुपमा सम्बोधन गर्दै छन्।
बामदेवको विषयलाई लिएर पार्टीभित्र आन्तरिक कलह चर्किएका बेला शीर्ष नेताहरुको उपस्थिति र सम्बोधनलाई महत्वका साथ लिइएको छ। कार्यक्रममा नेकपा अन्य वरिष्ठ नेताहरु पनि सहभागी हुनेछन्।
बुधबार अपरान्ह बालुवाटारमा बसेको सचिवालय बैठकले बामदेवलाई राष्ट्रिय सभामा पठाउन सिफारिस गर्नका लागि सरकारलाई अनुरोध गर्ने सर्बसम्मत निर्णय गरे लगत्तै प्रधानमन्त्री ओलीले आफूविरुद्ध खेल भएको र सचिवालयको निर्णय नमान्ने चेतावनी दिएको खबर आएको थियो। यहि विषयलाई लिएर नेकपाको तल्लो तहसमेत तरङ्गित भएको थियो।
यसअघि ४ फागुनमा कोहलपुर (बाँके) मा भएको प्रदेश–५ स्तरीय र ६ फागुनमा सुर्खेतमा भएको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा ओली उपस्थित थिएनन् भने १२ फागुनमा पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्ड सहभागी भएनन्।
कोहलपुरको कार्यक्रममा अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल उपस्थित थिए भने सुर्खेतको कार्यक्रममा प्रचण्डसहित सचिवालय सदस्य झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी थिए। यस्तै पोखराको कार्यक्रममा अध्यक्ष ओलीसहित सचिवालय सदस्य खनाल र श्रेष्ठ उपस्थित थिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३