विराटनगर- प्रदेश १ की सांसद गुलेफुन खातुन किर्ते मुद्दामा दोषी ठहर भएपछि उनलाई पदमुक्त गराउन निर्वाचन आयोगमा उजुरी परेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित उनलाई उच्च अदालत विराटनगरले सरकारी छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहर गरेको थियो । तर, दोषी ठहर भएकी खातुन अझै प्रदेश १ को प्रदेश सभा सदस्यमा कायमै छिन् । उनी मोरङबाट निर्वाचित भएकी हुन् ।
प्रदेश १ को प्रदेश सभा सचिव गोपालप्रसाद पराजुली प्रतिनिधित्वका सम्बन्धमा निर्वाचन आयोग र सम्बद्ध दलबाट औपचारिक निर्णय नआउँदासम्म प्रदेश सभामा खातुनको प्रतिनिधित्व कायमै रहने बताउँछन् ।
गत ६ पुसमा उच्च अदालत विराटनगरले उनलाई एक वर्ष कैद सजायको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलालाई केही सदर गर्दै ४३ हजार सात सय ५० को दामासाही (बराबरी) ले हुने १४ हजार पाँच सय ८३ रुपैयाँ बिगो कायम हुने फैसला भएको हो ।
उच्च अदालतको फैसलापछि खातुनलाई पदमुक्त गराउन निर्वाचन आयोगमा उजुरी परेको खबर आजकाे नयाँ पत्रिका दैनिकमा छ । जिल्ला र उच्च अदालतको फैसलाले दोषी ठहर गर्दा पनि प्रदेश सभा सदस्यमा कायम रहनु कानुनविपरीत भएको दाबी गर्दै गुलेफुन खातुनलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गराई आवश्यक कारबाहीका लागि आयोगमा उजुरी परेको हो । आयोगले भने यो विषय अदालतबाटै टुंगिनुपर्ने जनाएको छ ।
विराटनगरकी सीता जोशी पाण्डेको नाममा दर्ता रहेको कदमाहा–२ को कित्ता ११० को ३ रोपनी १० आना जग्गामा सेख धैका मियाँले मोही कमाउँदै आएका थिए । उनको मृत्युपछि दुई छोराहरूबीच जग्गाको बाँडफाँड हुने भयो ।
२१ माघ ०७१ मा तत्कालीन गाउँ विकास समितिको कार्यालय कदमाहाले मियाँको मृत्युपछि हक खाने छोरा सेख सिलावर मियाँ र सेख दिलावर मियाँ रहेको व्यहोराको सिफारिस बन्यो ।
तर, सेख सिलावर मियाँ र पत्नी गुलेफुन खातुन ३ रोपनी १० आना जग्गा एकलौटी नामसारी ल्याउन चाहन्थे । यसका लागि उनीहरूले गाविसको नक्कली सिफारिसको योजना बनाए ।
४ चैत ०७१ मा दुई महिनाअघि लिएको सिफारिसकै चलानी नम्बरमा जग्गाधनी मधुसुदनराज पाण्डेका नाममा दर्ता रहेको कदमाहा–२ को कित्ता नम्बर १०६ र २५५ को जग्गा मोही सेख धाइका मियाँ भएकाले उनको मृत्युपछि जेठा छोरा सेख दिलावर मियाँ छुट्टीभिन्न भइसकेकाले कान्छा छोरा सेख सिलावर मियाँले नै जग्गा जोतभोग गरी बाली बुझाएकाले उनकै नाममा मोही एकलौटी नामसारी गरिदिनु भन्ने व्यहोराको सिफारिस बन्यो ।
एउटै चलानी नम्बर राखी दुई छुट्टाछुट्टै मितिमा दुई फरक–फरक व्यहोराको सिफारिस तयार भयो । तर, पछिल्लो सिफारिस नक्कली थियो ।
मोरङ जिल्ला अदालतमा चलेको मोही नामसारी गरिपाऊँ भन्ने मुद्दामा सिफारिस आवश्यक परेको निवेदन दिएपछि गाविसले दुवै भाइका नाममा जग्गा आउनेगरी सिफारिस बनाइदिएको थियो ।
तर, गुलेफुन खातुन त्यो जग्गा आफ्नो पतिको नाममा एकलौटी ल्याउन चाहन्थिन् । यसका लागि सोहीअनुसारको गाविस सिफारिस आवश्यक पथ्र्यो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७