भारतबाट ल्याउने गरेको धूलो दूधलाई रोकेका तत्कालीन कृषिमन्त्री चक्रपाणि खनाललाई प्रतिस्थापना गरी ल्याइएका कृषिमन्त्री घनश्याम भुसाललाई मन्त्री पद निल्नु र ओकल्नु भएको चर्चा छ ।
मन्त्री भएको ३ महिना बित्न लागिसक्दा पनि उनले कामको भेउ नै समाउन नसकेको कर्मचारीहरू गुनासो गर्छन् ।
सिद्धान्तकार र चरित्रवान नेताका रुपमा चर्चामा रहेका मन्त्री हुन् भुसाल । यसपूर्व सरकारबाहिर बसेर सरकारको तीव्र आलोचना गर्दै आइरहेका थिए । त्यही सिलसिलामा उनलाई प्रधानमन्त्री ओलीले मन्त्री नै बनाइदिए तर मन्त्री भएपश्चात् न त कृषकले राहत पाउने ठोस काम गर्न सके न केही नयाँ योजनासहित सार्वजनिक हुन सकेका छन् ।
बाहिर बसेर बोल्दा र कुर्सीमा बसेर बोल्दा निकै नै गाह्रो हुने अनुभूति सम्हाल्दै मन्त्री भुसाल अहिलेसम्म पनि कृषि मन्त्रालयको बारेमा बुझ्दैछु भन्दै हिँड्न थालेका छन् ।
प्राविधिक मन्त्रालय भएका कारण कर्मचारीसँग चोसो मिलाउन नसक्दा मन्त्री अहिले यता न उताका भएका छन् । त्यसमाथि पनि आफूले मन्त्रालय सम्हालेको केही समयपश्चात् नै कृषि सेवातर्फका सचिव युवकध्वज जिसी जागिरबाट राजीनामा दिएर गएपछि उनलाई झन् सकस परेको छ । जिसीले जाँदाजाँदै मन्त्रालयमा २ सचिव आवश्यक नभएको भन्दै पशुपन्छी सेवातर्फबाट सचिवबाट काम लिनु उचित भन्दै गएपछि २ साता बितिसक्दा पनि न सचिव नियुक्ति गर्ने पहल भएको छ, न पशुपन्छी सेवातर्फका सचिवबाट नै भने जस्तो काम गर्न सकेका छैनन् ।
मन्त्री सचिवालयमा रहेको व्यक्तिहरू पनि आफ्नो स्वार्थसिद्ध गर्नका लागि मरिहत्ते गर्नेहरू परेका कारण उनलाई मन्त्रालय हाँक्न निकै नै सकस परेको भान हुन्छ । कृषि बुझेका व्यक्ति उनले सचिवालयमा राख्न सकेका छैनन् । विगतमा कृषिमा गन्हाएका व्यक्तिहरू नै सेरोफेरोमा बोकेर हिँडिरहेको आरोप छ । जसले गर्दा मन्त्री भुसाललाई मन्त्री पद निल्नु न ओकल्नु जस्तो भएको चर्चा सुनिन्छ ।
आफू मातहतका अधिकांश कार्यालयहरू कार्यालय प्रमुखविहीन अवस्थामा चलिरहँदा पनि उनले कामको भेउ पाउन नसकेका हुन् । अब केही समयपछि रासायनिक मलको अभाव खड्कने दिन आउँदैछ, त्यसपछि झन् मन्त्री भुसाललाई पद नै छाडेर जाऊँजस्तो हुन बेर छैन । आजको साँघु साप्ताहिकमा खबर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७