काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन् । दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै उनले ग्यास उद्योगी र नेपाल आयल निगमका प्रतिनिधिलाई सोमबार मन्त्रालयमा बोलाएर उक्त चेतावनी दिएका हुन् ।
सो अवसरमा मन्त्री भट्टले व्यवसायीहरूको नाफा सरकारले तोकिदिएको चर्चा गर्दै सङ्कटको फाइदा उठाएर कालोबजारीको प्रयास नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । उनले भने, “मेरो आग्रह छ, अहिले उपभोक्ताको जुनसुकै सिलिन्डर पनि साटिदिनुहोस्, विश्वव्यापी सङ्कटका बेला नाफा, घाटा नहरौँ, राज्यलाई सहयोग गर्नुहोस् अन्यथा हस्तक्षेप हुन्छ ।”
मन्त्री भट्टले तत्काल ग्यास सहज नबनाए डिलरलाई कारबाहीसमेत गरिने बताउनुभएको छ । नेपाल आयल निगमले आयात बढाइएको, वितरण पनि नियमित भएको तर उपभोक्ताले ठूलो परिमाणमा मौज्दात राख्दा समस्या रहेको तर केही दिनमै सहज हुने जनाएको छ । कोरोना भाइरसको त्रासले नभई होलीका अवसरमा नियमित आपूर्ति नहुँदा समस्या भएको ग्यास उद्योगीहरूले जनाएका छन् ।
“ग्यास ढुवानी मजदुर होली मनाउन गएपछि झन्डै एक हप्ता आपूर्ति खल्बलिएको र एक हप्तामा जतिसुकै माग बढे पनि सामान्य हुन्छ,” नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । नेपाल आयल निगमले भने कोरोना भाइरसको त्रासले ग्यास अभाव हुन्छ कि भन्ने आशङ्काले सिलिन्डर मौज्दात राख्दा समस्या भएको जनाएको छ तर मागभन्दा बढी नै आपूर्ति गरिएको हुँदा दुई/चार दिनमै सामान्य अवस्था हुने निगमको दाबी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७