कोरोना महामारीका कारण हरेक व्यववसायीक क्षेत्र धरासायीको अवस्था सामना गरिरहेको छ । त्यसैमध्यको एक व्यवसाय हो क्याटेरिङ्ग व्यवसाय । काठमाडौँ उपत्यकामा आधा दर्जनभन्दा बढी पार्टीप्यालेस तथा ब्यांकेट संचालन गरिरहेका दिपक महर्जनसँग कोरोना महामारीका कारण व्यवसायमा परेका असरका बारेमा बिगेन तुलाधरले गर्नुभएको कुराकानी :
बन्दाबन्दीको समय कसरी व्यतित भइरहेको छ ?
प्राय सबैको जस्तै मेरो पनि घर मै बसेर समय गइरहेको छ । परिवारसँग बस्ने, खानपिन गर्ने, चलचित्र हेर्ने यस्तै । घरबाहिर खासै गएको छैन । यो दुई महिना बिल्कुलै नौलो अनुभव गरिरहेको छु ।
हाल लगभग सबै व्यवसायलाई ठूलो मर्का परिरहेको छ, तपाईको व्यवसायको अवस्था कस्तो छ ?
मेरो व्यवसाय बैँकेट, क्याटेरिङ्ग हो । यसको अवस्था त तपाइलाई पनि थाह छ, दयनीय नै छ नी । सामाजिक दुरी कायम गर्नु पर्ने अवस्था छ । हाम्रो व्यवसाय नै हुल हुने, भिड जम्मा हुने खालको व्यवसाय पर्यो । त्यस कारण पनि अलि अप्ठ्यारै छ ।
के अब पहिले जस्तै ५००/१००० मान्छे जम्मा भएर पार्टी गर्ने अवस्था सकिएको हो ?
एक किसिमले त अब संभव छैन भन्दा पनि हुन्छ । एक किसिमले फेरी छ पनि । हाम्रो व्यवसायमा एउटा गाला डिनर भन्ने हुदो रहेछ । गाला डिनरमा सामाजिक दुरी कायम गरेर पार्टी आयोजना गर्न सकिने रहेछ । मैले पनि यसमा विस्तृत अध्ययन त गर्न बाँकी छ । एउटा राउण्ड टेबलमा ६/७ जना बसेर एक जना वेटरले सेवा दिदै पार्टी संचालन गरिदो रहेछ । त्यसरी सुरु गर्न संभव भने छ ।
सानो आशाको किरणको मात्र कुरा गर्नु भएको कि तपाइले कुरा गरिराख्नु भएको तरिकाले सम्पुर्ण व्यवसाय थाम्छ ?
धेरै गाह्रो छ नि । चल्ने बाटोको कुरा मात्र गरेको मैले । प्रयास गर्यो भने त्यसरी चल्ला तर धेरै गाह्रो हुन्छ । हाम्रो त खर्च पनि बढि छ, धान्नै गाह्रो हुन्छ ।
स्थायी कर्मचारी नहुने भएका कारण केही समस्या कम होला नि तपाइको अरुको तुलनामा ?
पहिलो त घरभाडा हो अनि दोस्रो हाम्रो लगानी हो । स्थायी कर्मचारी भनेको एउटा पार्टी प्यालेसमा ६ देखि १० जनासम्म मात्र हुन्छ । हाम्रो स्थायी कर्मचारी नभए पनि पार्टी वेसिसमा एउटा चलेको पार्टी प्यालेसले ३० देखि ४० हजार जनालाई सेवा दिन्छ । त्यसमा हजारौ जनशक्तिले काम पाउछन् । उनीहरु पनि मर्कामा परेका छन् । उनीहरुको पनि दैनिक कमाइ त गुम्यो नि ।
कति वटा पार्टी प्यालेसहरु, कुन कुन स्थानमा संचालन गरिरहनु भएको छ ?
त्यहि ६/७ वटा पार्टी प्यालेसहरु संचालन गरिरहेका छौँ । सासा बैँकेटको टेकु, विशालबजार र नयाँ बजारमा छ । दरबार बैँकेट सोल्टिमोडमा छ । कुडलिनीमा छ आर्को । एउटा नया नैकापमा हालसालै खोलिएको छ । हेरिटेज प्यालेस भक्तपुरमा सुरु गरेका छौँ । र एउटा हेरिटेज गार्डेन सानेपामा छ ।
यस अवस्थामा तपाईको व्यवसायलाई लिएर सरकारसँग केहि अपेक्षा होला नि ?
सरकारबाट केहि आश नै लिएको छैन मैले । एक किसिमले म आफै सरकारबाट पिडित मान्छे पनि हो । हनुमानढोका प्रहरी परिसरले २०७२ को भुकम्प पछि ठाउ नपाएर टेकुमा अवस्थित सासा बैँकेटमा आएर बस्यो । अहिले पनि बसिरहेको छ । पाँच वर्षकाृ एग्रिमेण्ट थियो हाम्रो, हाल समाप्त भइसकेको छ । न उनीहरुले भाडा दिन्छ हामीलाई न बत्तिको पैसा दिन्छ । त्यस ठाउ हाल गृहले नै किनेको सुनेको छु । हामीले लकडाउन पछि त्यस ठाउ छोड्दै छौँ । धेरै कोशिस गर्यौ भाडा र बत्तिको पैसा अशुल्न, सकिन । मुद्दामामिला तिर लागिन म । अब त आशा पनि छैन ।
त्यसो भए अब यी क्याटेरिङ्ग व्यवसाय कसरी अगाडी बढ्छ ?
अब यो अवस्था लामो समय रहिरहयो भने भन्न सकिदैन । हिजोको आज परिवर्तन भइरहेको छ अहिले । एक महिना अगाडिको सोच र आजको सोच फरक छ । लामो समय नै महामारी रहिरहयो भने त पार्टी प्यालेस चलाउने कुरा आउदैन । ६ महिना वर्ष दिन भित्र यो दुखद अवस्था सकियो भने त बिस्तारै संचालन होला नि ।
होटल, पार्टी प्यालेसहरुलाई विदेशबाट फर्किने नागरिकहरुको लागि क्वारेन्टिन बनाउने कुरा छ नि, यसमा तपाईहरुको सहमति छ ?
मलाई पनि सुन्नमा आएको कुरा हो । एउटा पत्र पनि तयार भइसकेको रहेछ । गृह मन्त्रालयबाट गृह मन्त्रीको संयोजकत्वमा होटल तथा पार्टी प्यालेसलाई उचित ठाउ हेरेर क्वारेन्टिनको लागि लिने भन्ने कुरा रहेछ । सरकारी पक्षबाट पत्रचार पनि भइसकेको छ । यो निशुल्क हुने वा के हुन्छ त्यसबारेमा कुनै जानकारी छैन । यस्तो दुखद अवस्थामा सरकारलाई सहयोग नगर्ने भन्ने त हुदैन । तर हाम्रो बाहालको बारेमा सरकारले सोच्नुपर्ने हुन्छ ।
कर्मचारी कटौती गर्नुपर्यो भने मापदण्ड के हुन्छ ?
होटलको जस्तो हाम्रो हुदैन । होटलको जस्तो स्थायी कर्मचारी हुदैन । होटलमा त कर्मचारीको होटलसँग सम्झौता नै हुन्छ । हामीले दैनिक ज्याला दिने भएकाले कर्मचारीहरुसँग सम्झौता हुदैन । त्यसकारण कुनै मपदण्ड त छैन । तर पनि मैले अरु फ्रोजन मार्टहरु खोलेर कर्मचारीहरुलाई जोगाइ राख्ने प्रयास गरेको छु ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
mediafactorynepal@gmail.com
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७