काठमाडौं – सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका तयार गरेर स्वीकृतका लागि सोमबार मन्त्रिपरिषद् पठाइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको उक्त निर्देशिका मन्त्रिपरिषद्ले पारित गरेकै दिनबाट कार्यान्वयनमा आउने जनाइएको छ । श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले तयार गरिएको निर्देशिकामा श्रम स्वीकृति लिएर विदेश गएका र कोरोनाका कारण समस्या परे वा नपरेको पहिचान गरेर मात्रै वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट उद्धार गरिने जानकारी दिए । साथै उनले अन्य प्रक्रियाबाट गएकालाई सरकारको अन्य शीर्षकको बजेट खोजेर उद्धार गरिने पनि जानकारी दिए ।
श्रम स्वीकृतिबाहेक अन्य प्रक्रियाबाट विदेश गएर कोरोनाका कारण समस्यामा परेका नागरिकलाई सरकारका विभिन्न शीर्षकका बजेटमार्फत १२ नेपालीको उद्धार गरिसकेका छौँ, प्रवक्ता घिमिरेले भने ।
यही असार १ गते सर्वोच्च अदालतले विदेशमा अप्ठ्यारोमा परेकामध्ये दूतावासले प्रमाणित गरेको हकमा वैदेशिक रोजगार बोर्डअन्तर्गतको कल्याणकारी कोषको रकमबाट स्वदेश फिर्ता गर्ने प्रबन्ध गर्न र त्यसका लागि निर्देशिका तयार गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको थियो । श्रम मन्त्रालयले सर्वोच्चको आदेशानुसार श्रम सम्झौता गरेर गएका श्रमिकको खर्च बेहोरेर स्वदेश फर्काउने निर्देशिका बनाएको छ । यो समाचार आजको गोरखापत्रमा छापिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७