काठमाडौं – कतिपय मानिसहरुले फ्रिजमा खानेकुरा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ भन्ने सोचाई रहेको हुन्छ । तर, यो धारणा गलत हो । कतिपय चिज फ्रिजमा राख्दा हामीले सोचेभन्दा ठीक उल्टो परिणाम निस्किने गरेको छ ।
फ्रिजमा राख्न नहुने खानेकुराहरु
पाउरोटी
पाउरोटीलाई फ्रिजमा राख्नु हुँदैन । फ्रिजमा राख्दा ब्रेड सुक्खा हुन्छ । राख्नु नै छ भने प्लास्टिकमा बेरेर फ्रिजरमा मात्रै भने राख्न सकिन्छ । तर, खानुअघि फ्रिजरबाट निकालेर केही बेर बाहिरी वातावरणमा राख्नु राम्रो हुन्छ ।
कफी
कफी कहिल्यै फ्रिजमा नराखौँ । यसको स्वाद बिग्रने मात्रै होइन, आसपासको खानामा यसको सुगन्ध हावी भइदिन सक्छ ।
रोटी
धेरैले रोटी खराब हुन्छ भनेर यसलाई राख्ने ठाउँ फ्रिज रोज्छन् । फ्रिजमा राखेको रोटी चाँडै सुक्छ र यसमा रहेको तत्व हराउँछ ।
अचार
अचारमा भिनेगार धेरै हुन्छ । यसलाई किचेनको चिसोमा राख्दा राम्रो हुन्छ । यसलाई फ्रिजमा राख्दा अन्य खानेकुरा समेत खराब गरिदिने खतरा हुन्छ ।
गोलभेँडा
गोलभेँडा गर्मी वातावरणमा फल्ने फल हो । यो तरकारी होइन फल हो, जसलाई धेरै पानी र घाम आवश्यक पर्छ । चिसो मौसममा यो राम्रोसँग फल्न सक्दैन । यस्तै, फ्रिजमा राख्दा पनि यो झन् छिटो गल्छ र बिग्रिन्छ ।
केरा
केरा पनि फ्रिजमा राख्दा छिटो–छिटो काला धब्बाहरू निस्किन्छ । चिसो राखेको केराबाट इथाइलिन नामको ग्यास निस्किन्छ, जसले आसपासमा राखेको फलफूललाई पनि छिटै गलाइदिन्छ ।
मह
फ्रिजमा राखेपछि महको गाढापन र वास्तविक स्वाद परिवर्तन हुन थाल्छ । फ्रिजबाहिर राखेरै मह लामो समयसम्म प्रयोग गर्न सकिन्छ । मह फ्रिजमा राख्दा यसमा क्रिस्टल बन्न थाल्छ ।
कागती–सुन्तला
कागती, सुन्तला, अमिलोजस्ता फल फ्रिजको चिसोमा राख्दा बोक्रामा चाँडै दाग देखिन्छ र बिग्रिन थाल्छ । फ्रिजमा राख्दा स्वाद पनि बिग्रिन्छ भने रस पनि सुक्छ ।
स्याउ
स्याउ पनि फ्रिजमा नराख्नु नै उत्तम हुन्छ । फ्रिजमा राख्ने नै भए पहिले कागजमा बेरेर तरकारी राख्न बनाइएको सेल्फमाथि व्यवस्थापन गर्नुपर्छ ।
काँक्रो
काँक्रो पनि धेरैले फ्रिजमै राख्ने गर्छन् । प्रायः गर्मी मौसममा फ्रिजमा राखेको चिसो काँक्रो खाने मन धेरैलाई हुन्छ । तर, दुई–तीन दिनभन्दा ज्यादा फ्रिजमा टिक्दैन ।
आलु
फ्रिजमा राखेपछि आलुका स्टार्च चिनीमा बदलिन्छ र स्वादमै असर पर्छ । आलुलाई घाम र धेरै चिसो दुवैबाट टाढा राख्नुपर्छ ।
प्याज
आलुजस्तै प्याज पनि फ्रिजमा राख्दा स्वादमै फरक पर्छ । फ्रिजमा राखेपछि नराम्रोसँग गल्छ । प्याजलाई पनि सुक्खा र अँध्यारो ठाउँमा राख्नु उत्तम हुन्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७