खोकना – ललितपुरको प्रसिद्ध ऐतिहासिक स्थल । खोकना भन्ना साथ शुद्ध तोरीको तेल मस्तिष्कमा घुम्छ । भूकम्पले पुराना ऐतिहासिक महत्वका घर भत्किएपछि पुनः निर्माणसँगै खोकना पनि आधुनिकतामा रुपान्तरण भयो । तर पनि खोकनामा तोरीको तेल पेल्ने मिलहरु प्रसस्त देखिन्छ । तोरी खोकनामा उत्पादन नभएपनि पुगेसम्म नेपाल कै तोरी, नपुगे विदेशबाट आयात गरेर भएपनि खोकनाले आफ्नो अस्तित्व जोगाइराखेको छ ।
खोकनाका स्थानीय कान्छा महर्जनले खोकनाको अस्तित्वलाई कायम राख्दै परम्परागत कोलबाट तेल पेल्ने गरेका छन् । मेशिन भन्दा परम्परागत कोलबाट तेल पेल्न गाह्रो भएपनि त्यसको स्वादमा फरक आउन नदिन परम्परागत शैलीबाटै तेल पेल्ने गरेको उनले बताए । महर्जनले यस कामको सुरुवात गरेको करिव एक दशक मात्र भएपनि त्यस मिल सय वर्षभन्दा बढी पहिले देखि संचालन भएको पनि उनले जानकारी दिए । कोलमा पेलेर निकालेको तेल र मेशिनबाट निकालेको तेल सिलौटोमा पिनेको मसला र ग्राइन्डरमा पिनेको मसलाको स्वाद जतिकै फरक हुने उनको भनाइ छ ।
परम्परा देखि नै खोकनाका स्थानीयहरुको मुख्य व्यवसाय नै तेलको थियो । यति सम्मकी बजार गएर सामान खरिद गरेर पैसाको साटो तेल नै साटेर पनि खोकनाबासीको जीविका चल्ने गरेको महर्जन सुनाउछन् । तेल मिल २४ घण्टा नै चल्ने गरेको र आफूहरु पालो गरेर काम गर्ने गरेको बाल्यकालको स्मरण ताजै छ महर्जनलाई । विदेशी पर्यटकहरु पनि अवलोकनको लागि महर्जनको मिलमा आउने गरेका छन् । विद्यार्थीहरु शैक्षिक अवलोकनका निम्ति पनि महर्जनको मिल आउने गर्छन् ।
७५ प्रतिशत आफ्ना ग्राहक मिल मै आएर तोरीको तेल खरिद गर्ने गरेको उनले बताए । खोकनामा तोरी उत्पादन हुदैन । नेपालमा उत्पादन भएको तोरी पर्याप्त छैन । तोरी भारतबाट मात्र नभएर अष्ट्रेलिया र युक्रेनबाट पनि आयात गर्ने गरेको जानकारी छ महर्जनलाई । दिनको ३ सय ५० किलोसम्मको तोरी पेल्ने गरेका महर्जनले दैनिक १ सय ५० लिटरसम्म तोरीको तेल उत्पादन गर्ने गरेका छन् ।
खोकनाको पहिचान बचाइराखेका कान्छा महर्जनहरुको मिल संरक्षणमा स्थानीय सरकारको महत्वपूर्ण रहन्छ । तर जनप्रतिनिधिहरु आफ्ना पाहुनालाई मिल अवलोकन गराउन बाहेक समस्या के छ भनेर बुझ्न फर्केर पनि आउने नगरेको उनको गुनासो छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३