नुवाकोट–काठमाडौं पत्रकार समाजका आयोजनामा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार दिउँसो बालाजु माछापोखरीको आरती पार्टी प्यालेसमा नुवाकोट जन्मघर भइ काठमाडौंको विभिन्न सञ्चारगृहमा आवद्ध रहेका पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको समाजको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
सो कार्यक्रममा आयोजका पत्रकारहरुसहित विभिन्न राजनीतिक दलका नेताहरु, राष्ट्रसेवक कर्मचारी, व्यवसायीहरु, विभिन्न बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरु साहित्यकारहरु लगायत विविध क्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतित्थता तथा संस्थाका संयोजक रमेश जम्कटेलका सभापतित्वमा सम्पन्न कार्यक्रममा सबै क्षेत्रका व्यक्तिहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
सो अवसरमा सभामुख घिमिरेले राज्यका निकायबाट हुन सक्ने अवैधानिक निर्णयको वातावरण आउनै नदिनका लागि भूमिका खेल्न पत्रकारहरूलाई आह्वान गर्दै सञ्चारकर्मीले सहीलाई सही र गलतलाई गलत नै भन्नुपर्नेमा जोड दिए।
पत्रकारले दूरदराजका जनतालाई पनि चेतनशील बनाउनुपर्ने र चाडबाड राम्रोसँग मनाउन विपन्न जनतालाई परेको कठिनाइ उजागर गर्नुपर्नेमा बताउँदै उनले भने, “तिनले आफ्ना कलमबाट जनप्रतिनिधिलाई पनि सजग गराउनुपर्छ, राष्ट्रको आवश्यकता, गन्तव्य र संविधानको उद्देश्य के हो भन्नेबारे सुसूचित गर्न भूमिका निर्वाह गर्नुपर्छ । ”
सभामुख घिमिरेले आमसञ्चारलाई प्रभावकारी बनाउनका लागि त्यस क्षेत्रमा योजना र बजेट दिन सरकारलाई सुझाव दिए । साथै उनले नुवाकोट सुन्दर र राजधानी नजिक भइकन पनि सुविधा नपाएर पिछडिएको जनाउँदै नुवाकोट र रसुवाका गोसाइँकुण्ड जस्ता ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीयस्थलको प्रचारप्रसार गरी जिल्लालाई भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपले वैभवशाली, आकर्षक एवं सद्भावपूर्ण बनाउन जिल्लाका पत्रकारहरूलाई आग्रह गरे।
सो अवसरमा सांसद अर्जुननरसिंह केसीले मुलुकमा आर्थिक, सामाजिक, धार्मिक द्वन्द्व हुन नदिन र मुलुकका सबै पर्व नेपालीको पर्व हो भन्ने भावना बढाएर राष्ट्रिय एकता मजबुत पार्नका लागि योगदान दिन पत्रकारहरूलाई आग्रह गरे। प्रतिनिधिसभामा नुवाकोटबाट प्रतिनिधित्व गर्ने पूर्वमन्त्री केसीले नुवाकोटबाट राजधानी आई पत्रकारिता गर्ने पत्रकारहरूको संस्था समाजले स्थापना गर्ने अक्षय कोषका लागि आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा पनि गरे।
कार्यक्रममा संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा प्रद्युम्न महत, राष्ट्रिय परीक्षा बोर्डका सहसचिव जङ्गबहादुर अर्याल, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य ताराबहादुर कार्की, नेपाल खानी तथा क्रसर उद्योग व्यवसायी महासङ्घका अध्यक्ष सीताराम न्यौपाने, राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, त्रिशूली वाङ्मय प्रतिष्ठानका अध्यक्ष आरएम डङ्गोल, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विष्णु तारुके, सहसंयोजक नवराज घिमिरे र पूर्वअध्यक्ष दिनेश आचार्यले मुलुकका सबै क्षेत्र सङ्कटमा परेकाले पत्रकारले सही सूचना दिएर राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणमा योगदान दिनुपर्नेमा जोड दिए।
त्यस्तै कार्यक्रम विसर्जन गर्दै सभाका सभापति जम्कटेलले भोलिका दिनमा भूगोललाई सबैलाई समेटेर उक्त संस्थालाई थप बलियो र मजबुत साथै समाज निर्माणको पहरेदार बनाउनेमा जोड दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७