पत्रकारिता हालको समयमा कुनै नयाँ वा नौलो विधा होइन । जनतालाई सूचना, ज्ञान र विचार आदानप्रदान गराउने माध्यमका रूपमा यसको लामो इतिहास रहेको छ । मानव सभ्यताले सूचना आदन प्रदानका निम्ति कयौं प्रयत्नहरु गरेको इतिहास छ । सन् १४५० को दशकमा जोहान्स गुटेनवर्गले आविष्कार गरेको मुभेवल टाइप प्रिन्टिङ प्रेसले मानव सभ्यतासँगैका यी कैयन प्रयासहरु निकै सहज र सार्थक बनाउन वरदान सावित भयो । यो एक प्रविधिको आविश्कार मात्र थिएन, युरोपमा मात्र केन्द्रीत ज्ञान, सूचना र साहित्यमाथिको एकाधिकार तोड्ने सशक्त क्रन्ति पनि थियो । हस्तलिखित, धीमा गति र सीमित प्रकाशनलाई गुटेनवर्गको आविष्कारले उच्च संख्याको प्रकाशन मात्र नभएर प्रकाशनका मूल्य सस्तो बनाउन पनि भूमिका खेल्यो । यससँगै युरोपभरि पुस्तक र पत्रपत्रिका प्रकाशनको लहर नै सृजना भयो ।
नेपालमा पत्रकारिताको सुरुको चरण प्रायः गोप्य सूचना र अप्रत्यक्ष सन्देशहरू आदानप्रदान गर्ने प्रक्रियाबाट शुरू भयो । राणा शासनकालमा प्रेस स्वतन्त्रता प्रतिबन्धित थियो र जनतालाई सरकारी सूचना मात्र उपलब्ध गराइन्थ्यो । त्यसपछि प्रजातन्त्रको उदय हुँदा पत्रपत्रिका स्थापनाको क्रम बढ्न थालेको देखियो, जसले सार्वजनिक विचार र बहसको बीजारोपण गर्यो ।
विश्वव्यापी रूपमा इन्टरनेट, सामाजिक सञ्जाल र मोबाइल प्रविधिको विकासले पत्रकारिताको संरचनामा व्यापक परिवर्तन ल्यायो । अब सूचना केही निश्चित माध्यम वा व्यक्तिमै सीमित रहेन, बरू हरेक नागरिकले रिपोर्टिङ गर्न सक्ने अवस्था आयो । सुरुवाती रूपमा यसरी सूचनाको पहुँच बिस्तार हुँदा लोकतान्त्रिक बहस र अन्वेषणात्मक पत्रकारितालाई निकै टेवा पुग्यो । स्थानीय विषयवस्तुहरू अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्न थाले र आवाज विहीनहरूको आवज प्रकाशमा आउन थाले । तर, समयक्रमसँगै सूचनाको सत्यता र विश्वसनीयताको प्रश्न गम्भीर रूपले उठ्न थाल्यो, सूचना सम्पादन वा तथ्य–जाँच नगरिकनै भाइरल बनाउने प्रवृत्ति जो बढ्दै गयो ।
पोस्ट ट्रुथ युग र पत्रकारितामा देखिएका जटिलता
आजको युग ‘पोस्ट ट्रुथ’ को नामले परिचित बनिदिएको छ, जसमा तथ्य तथा प्रमाणहरूभन्दा भावनात्मक वा वैचारिक पूर्वाग्रहहरू बलियो भइदिन्छन् । सामाजिक सञ्जालका एल्गोरिदमहरू प्रायः प्रयोगकर्ताको रुचिका आधारमा सामग्रीहरू स्किृनसम्म पुर्याइदिन्छन्, जसले एउटै विचारधाराका मान्छेबीच सूचनाको घेराबन्दी गरिदिन्छ, जसलाई इको चेम्बर भनिन्छ । फलस्वरूप, मानिसहरू आफ्नो मानसिकता वा राजनीतिक झुकावअनुरूप मात्र समाचार ग्रहण गर्न थाल्छन् र तथ्य–आधारित पत्रकारिता चुनौतीपूर्ण बन्दै जान्छ । नेपालमा समेत सामाजिक, धार्मिक वा राजनीतिक मुद्दाहरू भावनात्मक रूपमा प्रस्तुत हुँदा तथ्यहरू ओझेलमा पर्ने घटना देखिएका छन् । पछिल्लो समयका उदयमान नेतृत्वका विरुद्घ तथ्यमा आधारित समाचारहरु पनि ओझेलमा पारिएका उदाहरणहरु पोस्ट ट्रुथका यथार्थ हुन् ।
यस्तो अवस्थामा पत्रकारिताको मुख्य धर्मको रुपमा रहेको सत्यतथ्य पत्ता लगाउने, सन्तुलित समाचार दिने र जनतालाई शिक्षित गराउने जस्ता महत्वपूर्ण कार्य नै नराम्रोसँग प्रभावित हुन्छ । राजनीतिक स्वार्थ वा लोकप्रियता प्राप्तिका लागि झुटा वा अतिरञ्जित सूचना फैलावटको प्रयास व्यापक हुन्छ । पोष्ट ट्रुथमा तथ्य र यथार्थ सूचनाको सम्प्रेषण गर्न पनि पत्रकारहरु दुरुत्साहित हुने गर्दछन् ।
नागरिक पत्रकारिताको बुझाइ र चुलिँदो प्रभाव
सामाजिक सञ्जाल र डिजिटल माध्यमको पहुँच बढेसँगै नागरिक पत्रकारिता फस्टाउँदै गएको छ । स्मार्ट फोन, ब्लग, युट्युब च्यानल जस्ता प्रविधिहरू प्रयोग गरेर हरेक नागरिकहरूले नै घटनाको रिपोर्ट गर्न वा आफ्नो विचार राख्न सक्ने सहज वातावरण बनेको छ । नेपाल जस्तो भौगोलिक विविधता र पहुँचको चुनौती रहेको मुलुकमा नागरिक पत्रकारिताले कतिपय गाउँ–बस्तीका समस्याहरू उजागर गर्न सहयोग पनि पुर्याउँछ, जसलाई मुलधारका मिडियाले प्रायः नदेखेका हुन सक्छन् ।
नागरिक पत्रकारिताको बुझाइमा पनि समस्या रहेको छ । नागरिकले प्रविधिको प्रयोग गरेर सम्प्रेषण गरेका हरेक सूचनाले पत्रकारिताको स्वरुप प्रतिनिधित्व गर्दैनन् । कुनै घटनाका विभत्स, उत्सृंखल वा सम्पादन नगरिएका अमर्यादित सूचनालाई पनि नागरिक पत्रकारिताको रुपमा स्थान दिने गरिएको पाइन्छ, जुन नागरिक पत्रकारिताको भावनासँग मेल खादैन । जुनसुकै स्वरुपको पत्रकारिता होस्, पत्रकारिता हुनको लागि पत्रकारिताका मूल्य मान्यता हरेक अवस्थामा पालना भएको हुनु पर्दछ । नागरिक पत्रकारितामा सनसनी फैलाउने वा व्यक्तिगत पूर्वाग्रह राखेर सूचना प्रसारण गर्ने सम्भावना व्यापक रहन्छ । व्यावसायिक पत्रकारितामा जस्तो कानुनी उत्तरदायित्व वा प्रेस काउन्सिल जस्ता नियमनकारी संस्था नागरिक पत्रकारितामा लागू गर्न कठिनाइ हुन्छ । त्यसैले नागरिक पत्रकारितालाई प्रोत्साहन गर्न जरुरत भएपनि निश्चित सम्पादकीय मापदण्ड वा तथ्य–जाँच प्रक्रियासँग जोड्ने चुनौती भने व्यापक रहेको हुन्छ ।
‘भन्नुभयो’ पत्रकारिताको आवश्यकता ?
अझै पनि प्राय सञ्चारमाध्यममा ‘कसले के भन्यो’ भन्ने कुरालाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्ने प्रचलन छ । प्रायः यस किसिमका पत्रकारिता सरकारी स्वामित्वका संचारमाध्यममा देख्न सकिन्छ । अब पनि यस किसिमका समाचार सञ्चारमाध्यमले नै प्राथमिकतामा राखेर सम्प्रेषण गर्न जरुरी छ वा छैन भन्ने बहसको अवस्था सृजना भएको छ । प्रभावशाली नेता वा व्यक्तिवले गरेका भाषण अचेल प्राय उनीहरुकै सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिरहेका हुन्छन् । रुची भएका नगरिक यस किसिमका गतिविधिका बारे संचारमाध्यममा आउनु अगावै जानकार हुनु अब नौलो रहेन । यस्तै सामाग्रीहरु प्राथमिकताका साथ प्रकाशन वा प्रसारण गरिरहदा पत्रकारिताको वजन कालान्तरमा हलुका बन्न पुग्छ ।
अबको अवश्यक्ता ऐतिहासिक, सांस्कृतिक, सामाजिक पृष्ठभूमि र वैज्ञानिक तथ्यांकसँग आधारित गहन र अनुशन्धानात्मक पत्रकारिता हो । मात्र ‘कसले के भन्यो’ को व्यापारिक मोडलबाट पत्रकारिता सीमित हुन थाल्यो भने सामाजिक उत्तरदायित्व र लोकतान्त्रिक बहस नै बिस्तारै कमजोर हुन सक्छ ।
नेपालको सन्दर्भमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, जनसंख्या वृद्घि, जलवायु परिवर्तन, आप्रवासन जस्ता ठूला मुद्दाहरू छन्, जसलाई गहन अनुसन्धान, तथ्यहरूको विश्लेषण र बौद्धिक विमर्शको आवश्यकता छ । मात्र चर्चित व्यक्तित्व वा राजनीतिक वक्तव्यका पछाडि लागेर सनसनी बनाउने हो भने पत्रकारिताले आफ्नो बृहत्तर जिम्मेवारीबाट मनभंग गरिदिन्छ ।
पत्रकारिताका अवसर र भविष्य
प्रविधिको तीव्र विकासकै कारण डेटा पत्रकारिता, अन्वेषणात्मक रिपोर्टिङ, मोबाइल पत्रकारिता जस्ता नवीनतम विधाहरू सहजरुपमा अघि बढ्न सजिलो भएको छ । सरकारी तथ्यांक, अनुसन्धान प्रतिवेदन तथा सार्वजनिक रेकर्डहरू माथि आधारित रिपोर्टिङ गरेर आम जनतालाई सुसूचित गराउने अवसरहरू सहजरुपमा बढेका छन् । यदि प्रेस स्वच्छ, उत्तरदायी र पारदर्शी रहिरह्यो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेपालका आवाजहरू बुलन्द हुन सक्छन् ।
सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरू सही तरिकाले प्रयोग गर्न सकिए राज्यका नीति–निर्माण, विकास परियोजना र राजनीतिमा आम मानिसको प्रत्यक्ष सहभागिता सुनिश्चित हुन सक्छ । पत्रकारिताले प्रविधिलाई आत्मसाथ गरेर तथ्य जाँच, पहुँचवृद्धि र आलोचनात्मक बहसका लागि उपयोग गर्न सक्ने हो भने नविनतम अवसरहरू जन्मिन्छन् । साथै, स्थानीय भाषामा स्तरीय सामग्री उत्पादन वृद्घि गरी ग्रामीण जनतामा सूचनाको सरल पहूँच गराउनु अर्को सकारात्मक पक्ष हो ।
निष्कर्ष
नेपालको पत्रकारिताले लामो संघर्षको बाटो पार गरेर आज यस चरणमा आइपुग्दा डिजिटल युग, पोस्ट ट्रुथ र नागरिक पत्रकारिताको त्रिवेणी भेटिएको छ । विज्ञापन र प्राथमिकता बढ्दो रूपमा अनलाइन माध्यमतिर सर्दै गर्दा प्रिन्ट, रेडियो, टेलिभिजन जस्ता पारम्परिक माध्यमहरू कतिपय संकटमा छन् । तर, जसरी पनि पत्रकारिताको आधारभूत मूल्यहरूः सत्यता, सन्तुलन, जिम्मेवारीपन र जनहित कुनै पनि अवस्थामा गुम्न दिनु हुदैन ।
प्रविधिले ल्याएको सकारात्मक होस् वा नकारात्मक बदलाब, पत्रकारिताले त्यसलाई स्वीकार्दै आवश्यक सुधार र परिमार्जन गर्नुको विकल्प पनि छैन । नागरिक पत्रकारिताको सहयोगले ग्रामीण जनजीवन र दूरदराजका केही समस्याहरू मुलधारमा आएकै कारण व्यावसायिक पत्रकारिताले कायम गर्दै आएको सम्पादकीय मापदण्डचाहिँ बेवास्ता गर्न मिल्दैन । ‘पोस्ट ट्रुथ’ को भावनात्मक वा पक्षपातपूर्ण सूचनाबीच पनि सत्य–तथ्य खोज्ने जिम्मेवारीपूर्ण पत्रकारिताको महत्वपूर्ण भूमिका रहन्छ । यसरी मात्र पत्रकारिताले नेपालको लोकतान्त्रिक विकास र सामाजिक न्यायको मूल कसौटीमा टेवा पुर्याउन सक्छ र विश्वसनीय सूचना सम्प्रेषणको आधारस्तम्भ बन्न सक्छ ।
(मिश्र, त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसंचार केन्द्रीय विभागमा एमफिल / पीएचडीका शोधार्थी हुन् ।)
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७