चिया खर्च
- क्रिष्टिना श्रेष्ठ

बाटाेमा चिया बेच्दै गरेकाे दाईले कालाे चियाकाे दश र सेताे चियाकाे पन्ध्र भन्नु हुन्थ्याे । समयकाे महङगाईसँगै चियामा दाईले पांच / पांच रुपैया बढाईदिनु भयाे, अहिले भन्नु हुन्छ कालोकाे १५ सेताेकाे २०।

मैले काठमाडौँ आएर पढेकाे सात बर्ष भयाे। दाईहरु चिया खर्च दिने गर्नु हुन्थ्याे प्राय सय , कहिले काहि सय भन्दा कम , कहिले काहि सय भन्दा बेसी ।

स्तर सँगै चियाकाे मुल्य बदलिदै जान्छ थाहा छ मलाई। बाहिर २० रुपैयामा पाउने चिया क्याफेमा पुगेपछि २०० रुपैया हुन्छ । पानी उही , दुध उही, चिनी उही तर ग्लासकाे आकार मात्र फरक ।

मैले जिवनमा याे बाहेक चिया खर्चकाे कुनै अर्थ जानेकी थिईन । सायद जिवन झुटमै रमाईलाे हुन्छ । या जिवनले यथार्थ कुरिरहेकाे थियाे मलाई थाहा भएन । मेराे कलेज सकियाे । म अहिले अलि-अलि कानुनी क्षेत्रमा काम गर्छु । अझ भनौ काम गर्ने काेसिस गर्छु ।

मैले अहिले अर्काे चिया खर्चकाे अर्थ बुझने माैका पाए । त्याे हाे – सरकारी चिया खर्च, जहा कामकाे दुध हुन्छ, कामकै पानी हुन्छ अनि कामकै चिनी । काममा गएकाे केहि दिन पछि मलाई सिकाईयाे कि यहा चिनेकाे मान्छे काम लाग्छ या त किनेकाे मान्छे काम लाग्छ । अब चिनजान काेहि छैन किनजानमै चित्त बुझाउनु पर्छ ।

मैेले क्याम्पसमा पढदा प्रध्यापक न्यायकाे कुरा गर्नु हुन्थ्याे तर व्यवहारिक जिवनमा ल्याएकाे कुरा चल्दाे रहेछ । खाएकाे कुरा चल्दाे रहेछ । चिया खर्चकाे कुनै सिमा हुँदैन जसरी मैले आश्रममा पढेकाे थिए मानवियताकाे कुनै सिमा हुदैन । कसैले सय, कसैले हजार कसैले लाख – काम अनुसारकाे चियाकाे मुल्य हुदाे रहेछ ।

क्लाईन्टलाई काम छिटाे चाहिने चिया खर्च नदिकन कामै नहुने रहेछ फेरी । बिस्तारै दिने बानी पर्दाे रहेछ। बानी भएसी त नराम्राे पनि नलाग्ने रहेछ । यहि चिया खर्चले बिकराल रुप लिएकाे छ । तपाईलाई चिया खर्च दिनेकाे गल्ति लाग्छ कि लिनेको ?

ज-जसले दिईरहनु भएकाे छ उहाँलाई लिनेकाे गल्ति लाग्ला । ज-जसले लिई राख्नु भएकाे छ उहाँलाई दिनेकाे गल्ति लाग्ला । लिने र दिने चियाकाे स्वादमा एउटा व्यवस्था निर्माण भई सकेकाे छ ।

यदि तपाईले दिन ईन्कार गर्नु भयाे भने तपाईलाई लिनेकाे संजालले सामाजिक बहिष्कार गर्नेछ । यदि तपाईले लिन ईन्कार गर्नु भयाे भने लिने र दिनेका संजालले तपाईलाई आत्माहत्या गर्न बाध्य पार्नेछ ।

दश जना चाेरकाे भिडमा गएर जिवन जिउनलाई चाेर नबनेका सयाै पात्र छैनन् भन्न सकिन्न तर खाेज्न जरुरी छ यहाँ ।

म पनि त्यहि सन्जालमा छु चिया खर्च, चियाकाे सर्काे र यथार्थकाे लर्काे भित्र । मलाई लागिरहेकाे छ सधै पाेलिरहन्छ यसले । जतिबेला सम्म नखाई राखे पनि चिसिने कुनै वातावरण नै हुदैन । जति बेलासम्म खाईराखे पनि तातिने वातावरण नै हुदैन ।

म जज बन्न कानुन पढेकाे संघर्षकाे पहिलाे खुडकिलामै जलिरहेकाे छु चिया खर्चकाे स्वादले , चियाकाे रापले र न्यायपुर्ण चित्कारकाे सरापले ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार