आइफोनले सार्वजनिक गर्यो संसारकै सानो र हलुका ५ जी फोन, यस्ता छन् विशेषता

मंगलबार राति एप्पलले आइफोन-१२ सार्वजनिक गरेको छ। गत सेप्टेम्बरमै सार्वजनिक हुने भनिए पनि कोरोनाका कारण आइफोन-१२ मंगलबार मात्र सार्वजनिक भएको हो।

अरूबेला दर्शकका सामु सार्वजनिक हुने आइफोन यसपालि भर्चुअल माध्यमबाट सार्वजनिक भएको छ।

एप्पलले आइफोन-१२ का चार संस्करण सार्वजनिक गरेको छः आइफोन-१२, आइफोन-१२ मिनी, आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स।

यहाँ हामीले आइफोन-१२ मिनीका बारेमा कुरा गरेका छौं।

कम्पनीले आफ्ना फोनमा मिनी शब्द प्रयोग गरेको पहिलोपटक हो। यसअघि आइपड, आइप्याड र म्याकका मिनी संस्करण कम्पनीले निकालिसकेको छ।

आइफोन-१२ मिनीमा ५.४ इन्चको डिस्प्ले छ। यसको आकार सानो भए पनि डिस्प्ले ठूलो हुनुको कारण यसमा टच बटन छैन। टच आइडीको साटो यसमा फेस आइडी राखिएको छ।

आइफोन-१२ को मुख्य विशेषता ५ जी नेटवर्क हो। कम्पनीले पहिलो पटक ५ जी सुविधा भएको आइफोन ल्याएको हो। आइफोन-१२ मा जस्तै आइफोन-१२ मिनी पनि ५ जी सुविधा छ। त्यसैले यसलाई कम्पनीले संसारकै सानो र हलुका ५ जी फोन भनेको छ।

यसको कुल लम्बाइ ५.१८ इन्च छ भने चौडाइ २.५३ इन्च छ। यो ०.२९ मोटो छ। यसको तौल जम्मा १३५ ग्राम भएको कम्पनीले जनाएको छ।

आइफोन-१२ मिनी पाँच रङमा उपलब्ध छ- रातो, कालो, सेतो, हरियो र निलो। हरियो र निलो रङ यसपालि आएका हुन्।

यसमा ‘सेरामिक शिल्ड’ प्रविधिको ग्लास हालिएको छ। यो आइफोनमा पहिलोपटक प्रयोग भएको हो। यो ग्लास अरू स्मार्टफोनमा प्रयोग हुने ग्लासभन्दा चार गुना बढी बलियो भएको कम्पनीको दावी छ।

आइफोन-१२ मिनीमा ए १४ बायोनिक चिप्स छ। यसकारण फोनको पफर्मेन्स पहिलेभन्दा ५० प्रतिशत बढी दिने बताइएको छ।

आइफोन-१२ मा चार्जर एडप्टर र इयरपड छैनन्। यसमा एउटा युएसबी टाइप- सी केबल/तार मात्र छ जसबाट चार्ज गर्नुपर्नेछ। म्याकबुक वा अरू फोनका एडप्टरमा पनि यो तार जोडेर चार्ज गर्न सकिनेछ।

आइफोनको सुरक्षाका लागि कम्पनीले ‘म्यागसेफ’ प्रविधि ल्याएको छ। यसले वायरलेस चार्जिङ चाँडो र सुरक्षित हुने कम्पनीको भनाइ छ।

आइफोन-१२ मा पछाडि १२ मेगापिक्सलको मुख्य क्यामरा र १२ मेगापिक्सलकै अल्ट्रा वाइड गरी दुइटा क्यामरा छन्। सेल्फी क्यामरा पनि १२ मेगापिक्सलकै छ। यसमा भएको नाइड-मोड सुविधाले राती फ्ल्यास बिनै उज्यालो फोटो लिन सकिनेछ।

आइफोन-१२ मिनीको मूल्य ६९९ डलरबाट सुरू हुन्छ। यो मूल्य ६४ जिबीको लागि हो। एप्पलको वेबसाइट अनुसार १२८ जिबीको ७४९ डलर र २५६ को ८४९ डलर पर्छ।

यसको मूल्य नेपाली बजारमा आउँदा केही बढी हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार