काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ । बैठकमा पछिल्लो समय पार्टीमा देखिएको असन्तुष्टि साथै सरकारका कामको समिक्षा लगाएतका विषयमा छलफल हुने बताइएको छ ।
आजको बैठकले स्थायी कमिटीको मिति र एजेण्डा तय गर्ने सचिवालयका एक सदस्यले बताए । ‘पार्टीमा आन्तरिक विवाद बढेको छ । पछिल्लो समय उठेका असन्तुष्टि, सरकारको काम कारवाही, स्थायी कमिटी बैठकको मिति तय र तल्ला तहका कमिटीको एकीकरण लगाएतका एजेण्डामा छलफल हुनेछ,’ ती नेताले बताए ।
अशोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश पदाधिकारीको टुङ्गो लगाएको थियो । तर, उक्त बैठकको निर्णयलाई लिएर बरिष्ठ नेता माधवकुमार नेपाल र अर्का सदस्य नारायणकाजी श्रेष्ठको असन्तुष्टि रहँदै आएको छ । सचिवालयका बरिष्ठ नेता नेपालले सार्वजनिकरुपमै प्रदेश पदाधिकारीको विषयलाइ लिएर असन्तुष्टि जनाएका थिए ।
यसअघि बसेको सचिवालय बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ अनुपस्थित थिए ।
विदेश भ्रमणमा रहेका बेला सचिवालयले प्रदेश पदाधिकारीको जिम्मेवारी तोकेपछि खासगरी नेपाल समूहले चर्को असन्तुष्टि जनाउँदै आएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७