प्रविधिको उच्चतम प्रयोग भइरहेको पछिल्लो समयमा प्राय चर्चामा रहिरहेको विषय परम्परागत संचार माध्यमको भविष्य पनि एक हो । सन् १४५० को दशकमा जर्मन आविष्कारक जोहान गुटेनवर्गले आविष्कार गरेको आधुनिक प्रिन्टिङ्ग प्रेसले पत्रकारितालाई स्वरुप दिन बरदान सावित भयो । पत्रपत्रिका एक मात्र पत्रकारिताको स्वरुपमा एकक्षत्र राज गरीरहेको समयमा सन् १९३० को दशकमा एफएम रेडियो विस्तारको सुनौलो दशकले पत्रपत्रिकालाई केही धक्का दियो । पत्रपत्रिकाका संचालकहरुलाई एफएम रेडियोले केही विचलित पनि बनायो तर पनि पत्रपत्रिकाको आयु रेडियोको कारण छोटिएन । पुनः सन् १९५० को दशकमा टेलिभिजनको विस्तारले पत्रपत्रिका र रेडियोलाई थप धक्का दियो । तर पनि टेलिभिजनको आगमनले पत्रपत्रिका र रेडियो प्रकाशन तथा प्रसारणमा उल्लेख्य रुपमा धक्का दिएन ।
तर सन् १९९० को दशकमा भएको इन्टरनेटको आविस्कारले सूचना प्रविधिमा उल्लेख्य फड्को मार्यो । मानिसमा सूचना ग्रहण गर्ने तौरतरिकामा उल्लेख्य परिवर्तन आयो । रेडियो र टेलिभिजनको आगमनले पार्न नसकेको प्रभाव इन्टरनेटको आविष्कारसँगै उदाएको अनलाइन संचारमाध्यमले भने परम्परागत संचार माध्यमलाई ठूलो प्रभाव पार्दै गयो । अनलाइन संचार माध्यमको उदयले रेडियो र टेलिभिजनभन्दा पनि छापा संचार माध्यमलाई विशेष धक्का दियो । श्रब्य, दृष्य र अक्षरका मार्फत तुरुन्त सूचना पाउने अवस्थामा भोलिसम्मको पर्खाइले पाठकहरु केही हदसम्म छापा संचार माध्यम तर्फ विकर्षित हुने क्रम बढ्दै गइरहेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट आम संचार तथा पत्रकारितामा स्नातकोत्तर उतिर्णको लागि थेसिस (सोध प्रवन्ध) बुझाउने पर्ने हुन्छ । यसै क्रममा मलाई माथि उल्लेखित कुराले केही सोच्न बाध्य बनाएको थियो । लाग्यो यसै विषमा थेसिस तयार किन नगरु ? डिजिटल युगमा छापा संचार माध्यमका चुनौती शिर्षकमा थेसिस तयार गर्ने निधो गरे । थेसिस सम्पन्न गरेर विश्वविद्यालयमा बुझाउने कार्य पनि सकियो । सोसल साइन्स रिसर्च नेटवर्क नामक अन्तराष्ट्रिय जर्नलमा पनि यस थेसिसको लेख प्रकाशित भयो । फेरी लाग्यो, नेपाली लेख मार्फत उक्त अनुसन्धानको प्रप्त नतिजा किन नलेखु ? यसरी यस अनुसन्धनात्मक लेख तयार गर्ने सोच आएको हो ।
१ सय ४९ जना पत्रकारिताका विद्यार्थी, पत्रकारहरु र पत्रकारितासँग सम्बन्ध राख्ने सरोकारवालाहरुलाई प्रश्नावली बनाएर गुगल डकुमेन्ट मार्फत सर्भे गरिएको थियो । ५० वर्ष उमेर समुह भित्रका स्नातक र स्नातकोत्तर शैक्षिक योग्यता भएका व्यक्ति सर्भेमा सहभागी भएका थिए ।
दैनिक सूचना ग्रहण गर्न तपाई भर पर्ने माध्यम कुन हो भन्ने प्रश्नमा ८७.५ प्रतिशत सहभागीले अनलाइन संचार माध्यम भन्ने जवाफ दिएका थिए भने ६.९ प्रतिशत सहभागीले मात्र छापा संचार माध्यम भन्ने जवाफ दिएका थिए ।
उक्त संचार माध्यमा भर पर्नुको कारण के हो भन्ने प्रश्नमा सहजताका कारण भन्ने अधिकांस सहभागी थिए भने मल्टिमिडिया कन्टेन्टका कारण, प्रविधिमैत्रीका कारण, तुरुन्त प्रतिक्रिया जनाउन मिल्ने कारण र सस्तो भएका कारण भन्ने प्रतिक्रिया क्रमसँगै आएको थियो ।
तपाईको विचारमा उत्तरदायी र विश्वश्निय संचार माध्यम कुन हो भनेर गरिएको प्रश्नमा ५१.४ प्रतिशत सहभागीले अनलाइन संचार माध्यम भनेका थिए भने ४५.८ प्रतिशत सहभागीले छापा संचार माध्यम भनेका छन् ।
ब्रेकिङ्ग न्युज कुन संचार माध्यमबाट पाउनुहुन्छ भन्ने प्रश्नमा ९१.७ प्रतिशत सहभागीले अनलाइन संचार माध्यम भनेका छन् भने ५.६ प्रतिशत सहभागीले मात्र छापा संचार माध्यम भनेका छन् ।
अधिकतम सूचना ग्रहणका हिसाबले तपाई छापाबाट अनलाईन संचार माध्यममा स्थानान्तरण हुनुभएको छ भन्ने प्रश्नमा ८८.९ प्रतिशत सहभागीले भएको छु भन्ने जवाफ दिएका छन् ।
तपाईले सर्वाधिक पढ्ने छापा माध्यमले अनलाईन संस्करण संचालन गरेको पाउनु भएको छ भन्ने प्रश्नमा ९१.७ प्रतिशत सहभागीले पाएको छौँ भन्ने जवाफ दिएका छन् ।
तपाईको छापा संचार माध्यममा रहेको निर्भर्ता पूर्णरुपमा अनलाइन संचार माध्यममा सार्न सक्नुहुन्छ भन्ने प्रश्नमा ६३.९ प्रतिशत सहभागीले सक्छौँ भन्ने जवाफ दिएका छन् ।
यस सर्भे शिक्षित वर्ग र युवा वर्गमा लक्षित भएका कारण आम सोचाइ भन्दा केही फरक नतिजा देखिएको हुन सक्छ । अनलाइन संचार माध्यमको उत्तरदायीत्व र विश्वश्नियता माथि बारम्बार प्रश्नहरु खडा हुने गरेको अवस्थामा पनि अधिकांस सहभागीले अनलाइन संचार माध्यमलाई उत्तरदायी र विश्वश्निय संचार माध्यम भनेका छन् । संचार माध्यमको पहिचान गर्न नसकेर पनि आम सर्वसाधरणले अनलाइन संचार माध्यमलाई विश्वश्निय नमानेका हुन् । समाजिक संजालमा राखिएका हरकोही समाचारको स्वरुपमा देखिने अक्षर राखिएका लिंक संचार माध्यम होइनन् भन्ने बुझेकाका लागि अनलाइन संचार माध्यम विश्वश्निय लाग्दछ ।
ब्रेकिङ्ग न्युज पाउने लगभग सबै सर्भेमा सहभागीहरुको मात्र होइन सहभागी नभएकाहरुको पनि अनलाइन संचार माध्यम नै बन्न पुगेको छ । दैनिक सूचनाका लागि अधिकांस मानिस अनलाइन संचार माध्यममा नै निर्भर रहेका छन् ।
अधिकांस छापा संचार माध्यमका अनलाइन संस्करणले पनि यहि पुष्टि गर्दछ कि अब प्रविधिबाट भागेर होइन प्रविधिको उच्चतम प्रयोग गरेर मात्र आफ्नो अस्तित्व कायम राख्न सकिन्छ । यस डिजिटल युगमा छापा संचार माध्यमका संख्या कम हुन्छन् भन्ने अवस्था हाल नभए पनि छापिने पत्रपत्रिका अंक भने कम हुने स्वभाविक रहेको छ । छापा संचारमाध्यममा अनलाइन संस्करण नै दिगो रहने छन् जबकी छापा संस्करण ढिलो–चाडो इतिहास मात्र बन्ने छ ।
फिलिप मेयरले ‘द भेनिसिङ्ग न्युजपेपर’ मा गरेको अनुमानलाई आधार मान्ने हो भने सन् २०४४ सम्म छापा अखबारको संख्या एकमा झर्ने छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३