काठमाडौं – अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थमन्त्रीमा आफ्नो निरन्तरताको संकेत गरेका छन् । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै उनले यस्तो सम्भावनालाई बलियो बनाएका हुन् ।
पत्रकारलाई जवाफ दिनेक्रममा उनले भने, ‘२१ गते शपथ ग्रहण छ, त्यही दिन भेट हुन्छ, भेट नभए पनि कुराकानी भइहाल्छ ।’
सो अवसरमा उनले राष्ट्रियसभा सदस्यमा दोहोरिने वा नदोहोरिने भन्ने सम्बन्धमा के हुन्छ भन्ने जिज्ञासा राखेर हतार नगर्न पनि सञ्चारकर्मीलाई सुझाव दिए । उनको भनाइ थियो, मेरै बारेमा कुरा उठाउनुभयो । तर तपाईँहरु अलिक हतार गर्दै हुनुहुन्छ ।’
उनले आफुनै राष्ट्रिय सभामा दोहोरिने ठोकुवा भने गरेनन् । स्पष्ट जवाफ माग्ने पत्रकारलाई उनको जवाफ थियो, ‘यसबारे थप जवाफ दिनुपर्ने आवश्यकता मैले देखेको छैन ।’
राष्ट्रियसभा सदस्य को बन्ने बिषयले सत्तारुढ नेकपालाई नै तताइरहेका बेला अर्थमन्त्रीको यस्तो भनाइ आएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको निर्णय नमान्ने र खतिवडालाई नै पुनः सदस्यका लागि सिफारिस गर्ने नेकपाका नेताहरुसँग अडान राखेको खबर सार्वजनिक भईरहेको बेला अर्थमन्त्रीको यो भनाइलाई अर्थपूर्ण मानिएको हो ।
यदी अर्थमन्त्री डा. युवराज खतिवडाको अर्को कार्यकालका लागि आगामी २१ गते सपथ ग्रहण भयो भने सो कती समयको लागी होला भन्ने प्रश्न उब्जिएको छ । उनको निरन्तरता राष्ट्रिय सभा सदस्य कै हैसियतमा हुने विश्वास गर्नेहरु अबको ३ वर्षका लागि नै उनी अर्थमन्त्री हुने विश्लेषण गरिरहेका छन् ।
कतिपय संविधानका ज्ञाताहरु भने राष्ट्रिय सभा सदस्यमा पुन उनि नै सिफारिसमा पर्ने सम्भावनालाई नै नकार्छन । उनीहरुको प्रश्न छ, ‘फेरी फेरी उही मान्छे दोहोर्याउने हो भने त्यो बेलाको गोलाको अर्थ के ? संविधानवादले यस्ता सम्भावनाको कल्पना नगर्ने हुँदा प्रधानमन्त्रीले फेरी डा. खतिवडालाई नै राष्ट्रपतीद्वारा मनोनित गराउनु हुँदैन भन्ने उनीहरुको तर्क छ । ’
उनी गैर सांसदको रुपमा समेत ६ महीना मन्त्री पाउने सुविधामा रहेकाले आगामी बजेट वाचन गरेर उनले अर्थमन्त्रालय छाड्ने अर्काथरीको अनुमान छ । संविधानले उनलाई ६ महिनाको लागिमात्र सपथ लिन सक्ने बाटोको व्यवस्था गरेको छ ।
राष्ट्रियसभा सदस्यबाट दुई वर्षको अवधि सकेर फागुन २० गते खतिवडा बाहिरिने अनुमानलाई बिहीबारको उनको भनाइले गलत सावित गर्ने देखिएपछि उनको बहिर्गमनको सम्भावनामा उर्लिएको शेयर बजार आइतबार कस्तो होला भन्ने प्रश्न र अनुमानहरु समेत अहिले चर्चामा छन् ।
२१ गते खतिवडाको शपथ निश्चित
प्रधानमन्त्री केपी ओलीले रुचाइएका पात्र अर्थमन्त्री डा. युवराज खतिवडा पुनःदोहोरिने प्राय निश्चित भएको छ । राष्ट्रिय सभामा अर्थमन्त्री युवराज खतिवडालाई नियुक्त गर्ने तयारी भित्रभित्र भएसँगै खतिवडा दोहोरिने प्राय निश्चित भएको हो । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र अर्थमन्त्री खतिवडा मध्ये कसलाई राष्ट्रिय सभामा नियुक्त गर्ने भन्ने विषयले नेकपाभित्र विवाद सिर्जना भएको छ ।
यद्यपि बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलन सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै अर्थमन्त्री खतिवडाले फागुन २१ गते मात्रै यसबारेमा थाहा हुने बताए । नेकपाभित्र एकपक्ष खतिवडाको साटो वामदेव गौतमलाई नियुक्त गर्ने चलखेलमा लागेको छ । तर, प्रमले भने खतिवडालाई निरन्तरता दिन चाहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३