सिरहाको गोलबजार नगरपालिका–८ मैनावती नदीमा निर्माण गरिएको बाँध असार २६ गतेको भेलले बगाएको छ । गत फागुन महिनामा बनेको बाँध पाँचौ महिनामै बगेको हो । बाँध बगाएपछि गोलबजार नगरपालिका वडा ४ चोहर्वा र वडा नम्बर ८ भाइजी टोलबीच आवागमन बन्द भएको छ ।
२०७५ सालमा गोलबजार नगरपालिकाले पुल निर्माण गरेको थियो । ठूलो नदीको बीचमा ३० फिट मात्र लम्बाई र सात फिट उचाइ भएको पुल निर्माण गरिएको हो । दुईतिर नदी बग्ने र बीचमा बिना उपयोग पुल निर्माण भएपछि सञ्चारमाध्यमहरुमा पुलको उपयोगिता र डिजाइनबारे प्रश्न उठाइएको थियो ।
गलत डिजाइन र बिना प्रयोजन पुल निर्माण भएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । छानविनको क्रममा तत्कालीन मेयर देवनाथ साह र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वयानका लागि बोलाएको थियो ।
त्यसपछि नगरपालिकाबाट अन्यत्र सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृत केसी पुनः गोलबजार नै सरुवा लिएर आएका थिए । उनी आउनासाथ गत पुष २९ गते हिउँदे नगरसभा गराएर मैनावती पुलको अधुरो काम पूरागर्ने भन्दै ५० लाख बजेट जिनियोजन गराएका थिए ।
सो क्रममा हालका मेयर श्याम कुमार श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत केसीलाई बजेट विनियोजन गर्न सघाएका थिए ।
नगरसभाबाट बजेट विनियोजन भएपछि केसीले नगरपालिकाको ट्रयाक्टर , ट्रिपर, स्काभेटर (जेसिभी ) र बजेट खर्चेर पुलको दायाँबायाँ बाँध बाँधेर आवागमन गर्ने सडक तयार पार्न लगाएका थिए ।
त्यसपछि वडा नं. ४ चोहर्वा गाउँ र वडा नं. ८ को भाइजी टोलबीच आवतजावत गर्न मिल्ने बाँध बनाइएको थियो । नियम विपरीत र गलत डिजाइन अनुसार पुल बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र आयोगले छानविन गरिरहेको थियो । बाँध बाँधेर पुललाई प्रयोगमा ल्याउने र अख्तियारमा रहेको उजुरीको फाइललाई मुलतवीमा पु¥याउने उद्देश्यले बाँध निर्माण गरिएको स्थानीयबासी बताउँछन् ।
तर नयाँ बाँध बाँध्ने कामको डिजाइन र इष्टिमेट नदेखाएको, ठेक्का वा उपभोक्ता समिति के मार्फत काम गरिएको भन्ने कुरा गोप्य राखिएको भन्दै गोलबजार नगरपालिकाले बाँध बाँध्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुनः थप उजुरी परेको थियो ।
दोहोरो उजुरी परेपछि गत चैत ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृतहरुले पुल तथा बाँधको स्थलगत निरीक्षण गरी मुचुल्का उठाएको वडा नं. ८ का वडाध्यक्ष देवनारायण सिंहले बताए ।
वडाध्यक्ष सिंहले भने, ‘एउटा गल्ती छोप्न सय गल्ती गरेजस्तै भयो । चैतमा भएको हल्का वर्षाले नै बाँध कटान सुरु भयो । मैंले मेयर साहेबलाई फोन गरेर जानकारी दिएँ र अवलोकन गर्न भने,’वडाध्यक्ष यादवले थपे,‘त्यो बाँध टिक्दै टिक्दैन भनेर मैंले उहिल्यै भनेको हुँ । मैनावती नदीको भल त्यति सानो पुलबाट कसरी छिर्छ ? झन् सत्यानास पार्छ । पूर्वपट्टीको खेल मैदान र मलामी घरपनि बगाउँछ । आखिर मंैले भनेजस्तै भयो । नहुने काम गरेपछि यस्तै बर्बादी र तनाव हुन्छ । असारको बाढीले बाँध स्वात्तै बगायो । पैसाको नास भयो । हामीले त पुल बनाउँदैदेखि रोकेका थियौं ।’
यसबारे प्रतिक्रिया दिंदै स्थानीय माओवादी नेता रामचन्द्र सिंह भन्छन्,‘यो बाँध प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीलाई अख्तियारको कारवाहीबाट बचाउन हतार हतार निर्माण गरिएको थियो । गलत डिजाइन र उपयोगहीन पुलको औचित्य पुष्टि गर्न बाँध बनाइयो । पुललाई प्रयोगमा ल्याएको देखाउन बाँध बाँधेर अख्तियारलाई भिजिट गराइयो । अख्तियारलाई झुक्याइयो र फाइल बन्द गराइयो । तर असारको सामान्य वर्षाले बाँध वेपत्ता बनायो,’ सिंह भन्छन्,‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसमा पुन छानविन गर्नुपर्छ । एउटा अपराध छोप्न झन् ठूलो आर्थिक अपराध भएको छ ।’
सेवा निवृत डिभिजनल इन्जिनियर जगदिश महतो भन्छन्,‘विशाल मैनावती नदीको भेललाई लाई २२ फिट लम्बाई र ८ फिट उचाईको पुलबाट छिराउने कार्य इन्जिनियरिङ्ग होइन धृष्टता मात्र हो । पुल बनाउनु नै गलत थियो झन् बाँध बाँध्नु महाभुल हो । स्रोत साधनको अपव्यय हो । जति पटक बाँध बाँधे पनि बगाउने निश्चित छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३