सन् २०१४ देखि हरेक वर्ष मोती जयन्तीको अवसरमा सिड्नीमा आयोजना गरिदै आएको सम्पूर्ण गजल कार्यक्रम “गजल मुशायरा” को चौधौँ श्रृंखला “गजल मुशायरा २०२४” आगामी २२ सेप्टेम्बर आइतबारका दिन गजल मुशायरा परिवारको आयोजनामा सिड्नी हर्स्टभिल स्थित सिभिक थिएटरमा आयोजना हुने भएको छ ।
“गजल मुशायरा परिवार” ले यस अगाडी सिड्नीमा सात वटा र सिड्नी बाहिर ब्रिसबेनमा दुई र एडिलेडमा एक, मलेसियामा एक, नुवाकोटमा एक र अल्बेरीमा एक गरि तेह्र वटा कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । “गजल मुशायरा परिवार” का कार्यक्रम र नियमित गतिविधिहरु लगायत सिड्नीमा हरेक वर्ष आयोजना हुने “गजल मुशायरा” को संयोजन गजलकार जितेन्द्र मल्लले गर्दै आएका छन् । यस अघि सम्पन्न ब्रिसबेनका कार्यक्रम केशव शर्मा, एडिलेडमा सम्पन्न कार्यक्रम मिलन दाहाल, मलेसिया जेबी देवान, नुवाकोट ईश्वर पौडेल र अल्बेरी दुर्गा प्रसाद रिमालको संयोजनमा आयोजना भएको थियो ।
दशौं वार्षिकोत्सवको अवसरमा गजल मुशायरामा वाचन गरिएका गजलहरू सहितको यौटा ऐतिहासिक दस्तावेज “गजल मुशायरा विशेषाङ्क २०८१” को लोकार्पण गरिने पनि आयोजकले जानकारी दिएको छ । गजल मुशायराको यस श्रृंखला दशौं वर्ष विशेष श्रृंखला हुने, जसमा अस्ट्रेलियामा रहेका २२ जना गजलकारहरुले २/२ वटा गरी ४४ वटा गजल बाचन गर्ने पनि आयोजकले जानकारी दिए ।
गजल मुशायरा २०२४ मा सहभागीहुने गजलकारहरुमा सिड्नीबाट गणेश गौतम, शिवजी भण्डारी, निष्प्रभ सजी, सजल नयन, जितेन्द्र मल्ल, ऒमकार अधिकारी, महेश्वर शर्मा, छत्र बहादुर धामी र राहुल अर्याल, न्युक्यासलबाट ईश्वर पौडेल, ट्यामवर्थबाट बिष्णु प्रसाद अधिकारी, क्यानबेराबाट विनायक अधिकारी, तुल्सा पाण्डे र दुर्गा ढकाल, ब्रिसबेनबाट केशव शर्मा र कृष्ण समर्पण, तास्मानियाबाट अशोक शर्मा, मेलवर्नबाट लक्ष्मण सञ्ज्याल, रमेश अधिकारी र अशोक दवाडी र नेपालबाट मानस राज र आचार्य प्रभा रहने छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३