बिगेन तुलाधर / सौगात मिश्र, काठमाडौँ – कोरोना भाइरसका कारण सरकारले निर्णय गरेको लकडाउन उल्लंघन गर्दै मानिस आवतजावत गर्ने क्रम रोकिएको छैन ।
अरु स्थानभन्दा केहि कम संक्रमण देखिएको काठमाडौँ उपत्यकामा बाहिरबाट पद तथा शक्तिको दुरुपयोग गर्दै मानिस उपत्यका भित्रिने क्रम बढ्दो छ । यस क्रमलाई हेर्दा बाक्लो बस्ती रहेको काठमाडौँ उपत्यका कोरोना संक्रमणको निकै जोखिममा रहेको छ ।
काठमाडौँ महानगरपालीका वडा २२ मा पाँच जना मानिस लकडाउनको उल्लंघन गर्दै भित्रिएकोमा प्रशासनसँगको सहकार्यमा उनीहरुलाई फिर्ता पठाइएको वडाध्यक्ष चिनिकाजी महर्जनले जानकारी दिए । अझै पनि लकडाउन उल्लंघन गर्दै अनाधिकृतरुपमा प्रवेश गरे त्यसले दुर्घटना निम्त्याउने चेतावनी समेत दिए ।
राहत वितरण र निशुल्क खानाको व्यवस्थाले पनि काठमाडौँमा मानिस भित्रिने चाँप बढेको काठमाडौँ महानगर वडा २७ का वडाध्यक्षको बुझाइ छ । लकडाउनको उल्लंघन गरी अनाधिकृतरुपमा आफ्नो वडा प्रवेश गरे स्थानीयको सहयोगमा वडाबाट लखेट्ने चेतावनी पनि उनले दिए ।
पहुच र शक्तिका आधारमा आफ्नो वडामा प्रवेश गर्ने कल्पनासमेत नगर्न कामपा १२ का वडाध्यक्ष विकास डंगोलले चुनौती दिए । कोहि व्यक्ति अनाधिकृतरुपमा वडा प्रवेश गरे आफूलाई जानकारी गराउन पनि उनले आग्रह गरे । त्यसरी आएका व्यक्तिलाई स्थानीय र प्रशासनको समन्वयमा फिर्ता पठाउने पनि उनले जानकारी दिए ।
वडाको तर्फबाट आफूले घरधनीहरुलाई आफ्नोमा बस्ने डेरावालहरुलाई हाल नआउन जानकारी गराइदिनु भन्ने सन्देश विभिन्न तवरबाट दिइसकेको कामपा १८ का वडाध्यक्ष न्हुच्छे काजी महर्जनले बताए । कोहि आएको खण्डमा निरोगीताको प्रमाणपत्र देखाउनु पर्ने अन्यथा फिर्ता पठाइने पनि उनले जानकारी दिए ।
वडाको तर्फबाट घरधनीहरुलाई सचेत गराइएको र कोही डेरावालहरु बिना सूचना आएमा वडामा सम्पर्क गर्न अनुरोध गरेको कमपा १९ का वडाध्यक्ष शशीलाल श्रेष्ठले बताए । टेकु अस्पतालबाट स्वास्थ जाँच नगरी वडा प्रवेश गर्न नपाइने पनि उनले जानकारी दिए ।
को-कसको सम्पर्कमा छन् भन्ने कुरा थाह नहुने भएकोले बाहिरबाट उपत्यका प्रवेश गरिनु खतरा हुने कामपा २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले बताए । आफ्ना वडामा विभिन्न जनचेतनामुलक सूचनाहरु टासेर सचेत गराइरहेको र काठमाडौँलाई पनि शिल गरिए शुरक्षित हुने पनि उनको सुझाव रहेको छ ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमणको संख्या २१९ पुगेको छ । अधिकांस कोरोना संक्रमितको अवस्था हेर्दा उनीहरुको एक ठाउदेखि आर्को ठाउ यात्रा गर्नेहरुमा संक्रमण भएको देखिएको छ । अत्यावश्यक काम बहेक घर बाहिर ननिस्किएर र यात्रालाई पूर्णरुपमा बन्देज गरेर कोरोनाको संक्रमणबाट बच्न सकिन्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३