झापा – लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४ हेक्टर जमिन भारतले मिचेको पाइएको छ। मिचिएको स्थानमा झापाका पाठामारी, मेचीखोला पारिको गाउँ, महेशपुर, मेचीपुल, भद्रपुर गलगलिया सीमा क्षेत्र, काँकडभिट्टा, बारिसजोत, मदनजोत, नकलाबन्दा, बाहुनडाँगीलगायत ठाउँ रहेको सीमाविद् डा. राजकुमार पोखरेल बताउँछन्। झापामा मात्रै नौ सय ८८ वटा पिलर छन्।
पूर्वका सीमाविद् डा. पोखरेलका अनुसार २०२२ सालमा नेपाल सरकारले झापाका वासिन्दाले जग्गा नापजाँच गरेर धनीपुर्जा दिएको हो। ०४५ सालदेखि नेपालको भूमिमा भारतीयले हस्तक्षेप गर्न थालेका हुन्। ‘मेची नदीले धार परिवर्तन गरेसँगै सीमा क्षेत्रका जनताको जमिन पनि परिवर्तन भए । तर, परिवर्तन भएको जमिन उनीहरूले प्राप्त गर्न सकेका छैनन्,‘ डा. पोखरेलले भने।
दुवै देशबीच ‘पछि मिलाउने हाललाई स्थानीय ती जमिनमा बस्दै गर्छन्’ भनिएका जमिन पनि भारतले आफ्नो पोल्टामा पारिसकेको छ। पछिल्लो समय त्यसरी नै नेपाली लालपुर्जा भएका जमिनमा भारतीयले खेती गर्ने गरेका छन्। त्यही खेतीका बहानामा सीमामा पटक–पटक भारतीय र नेपाली सुरक्षाकर्मीबीच झडप पनि भएको छ। झापा जिल्लाको १४४.२ किमि क्षेत्रफल भारतसँग सीमा जोडिएको छ। यी स्थानका केही बासिन्दाले न आफ्नो भूमि भन्न पाएका छन्। न त आपत विपत पर्दा भूमिको उपयोग गर्ने अधिकार नै छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७