काठमाडौं – प्रभावकारी कदम चालिए पनि काठमाडौं उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ ।
उपत्यकामा बिहीबार मात्र ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंका २, ललितपुरका १ र भक्तपुरका ३ जनामा सङ्क्रमण देखिएको छ ।
काठमाडौंमा फेलापरेका सङ्क्रमितमा कपन बालुवाखानीका ४५ वर्षका पुरुष र तीनकुनेकी ३४ वर्षकी महिला हुन् । उनीहरू केही दिनअघि काठमाडौँ भित्रिएका हुन् । आफन्तको सल्लाहमा कोरोना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण देखिएको हो ।
त्यस्तै, भक्तपुर व्यासीका २४ वर्षका पुरुष, टीकाथलीका ५० वर्षका पुरुष र भक्तपुर नगरपालिका–१६ का २२ वर्षका पुरुषमध्ये कोही बाहिरबाटै आएको जनाइएको छ । ललितपुरमा फेलापरेका सङ्क्रमितका बारेमा भने जानकारी लिने कार्य भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।
उपत्यकामा देखिएका छ सङ्क्रमितमध्ये ४ जनालाई उपचार गर्न पाटन अस्पताल र २ जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको छ । उपत्यकामा बाहिरबाट आएका व्यक्तिमा धमाधम कोरोना देखिन थालेपछि थप सतर्क हुन दबाब परेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बाहिरबाट आउने व्यक्तिका लागि क्वारेन्टाइन व्यवस्थाको जिम्मेवारी स्थानीय तहलाई तोकिएको बताउँछन् । काठमाडौं उपत्यका प्रवेश गर्न घरधनीदेखि वडा हुँदै पालिकासम्मको सिफारिस अनिवार्य छ । तर, लुुकिछिपी र शक्तिको आड लिएर आउनेलाई ती नियमले छुन नसकेको कतिपय सम्बन्धित अधिकारी बताउँछन् ।
महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता जीवन श्रेष्ठ प्रहरीले रोके पनि ठूलाबडाले फोन गरेर आउन सिफारिस गर्नाले काठमाडौँमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको बताउँछन् । काठमाडौं उपत्यका प्रवेश गर्ने तथा बाहिर जाने सवारी साधनको सङ्ख्या दैनिक १० हजारभन्दा बढी रहेको छ । तीमध्ये एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान आवश्यक सिफारिस लिएका धेरै कम छन् ।
गृह मन्त्रालयबाट जारी ई-पास बोकेर आउनेको सङ्ख्या पनि त्यत्तिकै छ । जसका कारण कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च रहेको सम्बन्धित अधिकारी नै बताउँछन् ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल आफ्नो घर टोल तथा वडामा को आयो आएन भन्ने कुराको सूचना सङ्कलन गर्ने जिम्मेवारी वडा कार्यालयलाई दिएको बताए । आजको गोरखापत्र दैनिकबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७