वीरगन्ज – पर्सामा पछिल्लो समय कोरोना संक्रमणको इपिसेन्टर बन्दै गएको छ । वीरगन्जमा कोरोना संक्रमणका कारण पछिल्ला दुई दिनमा पाँच जनाको मृत्यु भएको छ ।
बिहीबार वीरगन्ज महानगरपालिका–१६ का ३५ वर्षीय युवक, वीरगन्जको जगदम्बा इन्टरप्राइजेजका सीईओ ५६ वर्षीय पुरुष र वीरगन्ज–२ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।
बुधबार पनि वीरगन्जमा दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । साउनमा मात्रै वीरगन्जमा १० जना संक्रमितको मृत्यु भइसकेको छ । बिहीबार पर्साका ४१ जनामा संक्रमण भेटिएकोमा ३७ जना वीरगन्जकै स्थानीय भएको बताइएको छ । बुधबार पनि ८४ जनामा कोरोना संक्रमण भेटिएको थियो । कोभिड अस्पतालमा अहिले भर्ना रहेका ६२ मध्ये ४ संक्रमितको अवस्था गम्भीर रहेकाले आईसीयूमा उपचारमा भइरहेको अस्पतालले जनाएको छ ।
यही असार अन्तिममा संक्रमित निको हँुदै घर फर्किन थालेपछि कोभिड अस्पतालमा दुई जना मात्रै संक्रमित बाँकी रहेका थिए । तर साउन सुरु भएलगत्तै पर्सामा संक्रमितको संख्या थपिँदै गएको छ । दिनहुँ संक्रमित थपिँदै गएपछि समुदायमै संक्रमण फैलिएको भन्दै वीरगन्जमा साउन १० देखि अनिश्चित्कालीन निषेधाज्ञा लगाइएको छ र सोमबारबाट जिल्लाभर निषेधाज्ञा जारी गर्ने स्थानीय प्रशासनले जानकारी गराइसकेको छ ।
मास टेस्टिङमा संकलन गरिएका स्वाबमा २० प्रतिशतभन्दा बढीको पोजेटिभ रिपोर्ट आइरहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा। मदन उपाध्यायले बताउनुभयो । कोभिड अस्पतालमा संक्रमित राख्ने ठाउँ नहुँदा १ सय २६ जना संक्रमितलाई घरमै राखिएको छ ।
५० बेड मात्रको कोभिड अस्पतालमा बेड खाली नहँुदा पछिल्लोपटक संक्रमण फेला परिरहेकालाई घरमै होम आइसोलेसनमा राख्नुपर्ने बाध्यता रहेको अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले बताउनुभयो । कोरोना नियन्त्रण तथा रोकथामको काममा जान नमान्ने वीरगन्ज महानगरपालिकाका २५ स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरी कारबाही गर्ने चेतावनी दिएपछि कार्य क्षेत्रमा फर्किएका छन् । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा वीरगन्ज महानगरपालिकाका २५ स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७