काठमाडौं– निजी हवाई सेवाप्रदायक सौर्य एयरलाइन्सले आज (बुधबार) बेलुकासम्म सबै बक्यौता चुक्ता नगरे भोलि (बिहीबार) देखि उडान तालिकामा अवरोध गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले विमानस्थल सेवाशुल्क वापतको सबै रकम आज बेलुकासम्म चुक्ता नगरे भोलिबाट प्रत्येक उडानमा एक घन्टा ढिला गरिदिने बताए। पहिलो दिन एक घन्टाबाट उडान ढिला गर्दै लैजाँदा पनि रकम चुक्ता नगरे जहाज नै ग्राउन्डेड गरिने क्षेत्री बताउँछन्।
एयरलाइन्स कम्पनीले अहिले पनि विमानस्थल कार्यालयलाई एक करोड ६५ लाख रुपैयाँ तिर्न बाँकी छ। एयरलाइन्स कम्पनीले एक करोड ७० लाख रुपैयाँ तिरे पनि बाँकी रकम चुक्ता गर्न आलटाल गरिरहेको छ। एयरलाइन्सलाई एक साता अगाडि अन्तिम पटक फेरि एक साताकै समय दिइए पनि रकम नतिरेको क्षेत्री बताउँछन्।
जबससम्म बक्यौता फस्र्योट हुँदैन तबसम्म उडान रोक्ने समय बढाउँदै अन्तिममा सबै उडान पूर्णरूपमा रोक्का गरिने उनको भनाइ छ। एयरलाइन्सले त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने अवतरण, ल्यान्डिङ, पार्किङ शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत सेवा उपयोग गरेवापत सौर्यले उक्त परिमाणबराबरको रकम चुक्ता गर्न बाँकी छ।
२०७१ भदौ पहिलो साता २५ करोड रुपैयाँ लगानीमा सौर्य स्थापना भएको थियो। कम्पनीले क्यानडास्थित जहाज निर्माता कम्पनी बम्बार्डियरमा उत्पादित ५० सिट क्षमतायुक्त ‘क्यानेडियन रिजनल जेट’ (सिआरजे–२००) सिरिजको जहाज एकथान ल्याउँदै नियमित व्यावसायिक उडान सुरु गरेको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३