काठमाडौं – उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादव बजार अनुगमनबारे मिडिया र पत्रकारहरुको समाचार सम्प्रेषण शैलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । अहिले चिनीको अभाव भएको, बजार भाउ बढेको लगायत समाचार प्रति गम्भीर आपत्ति जनाए । चिनीको भाउ नबढेको र अनुगमन पनि व्यवस्थित रूपमा भएको दावी गर्दै यादवले पत्रकारहरु नै पूर्वाग्रही बनेको बताए ।
‘बजारमा चिनीको कुनै अभाव छैन । र बजार भाउ पनि बढेको छैन्,’ मन्त्री यादवले भने, ‘चिनीको अभाव छ भनेर समाचार लेख्नेलाई कति चाहियो ? चिनीको बोरा नै जीउमा हालेर पठाईदिन्छौँ । त्यसैले अनर्गल प्रचार गर्नुहुँदैन । यस्तो अनर्गल प्रचारले देश कहिल्यै बन्दैन ।’ रिपोर्टर्स क्लवले आयोजना गरेको एक कार्यक्रममा बोल्दै यादवले यस्ताे बताएका हुन् । यादवले बजारमा कुनै मुल्यवृद्धि नभएको भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे । उनले भने, ‘हामी अहिले अनुगमन गरिरहेका छौँ । बजार अनुगमन गरिएन भनेर भनिएको छ । भोलि गृह, अर्थ, सामान्य प्रशासन र हाम्रो मन्त्रालयबीच आपसी छलफल छ । हामी एउटा बलियो संयन्त्र बनाएर काठमाडौंमा मात्रै होइन, पूरै देशमा बजार अनुगमन गर्छौँ ।’
यस्तै यादव चिनी आयात बढाउन एक अर्ब ६९ करोडको चलखेल भएको आरोप निराधार भन्दै पत्रकारको भुमिकाप्रति आक्रोशित बने । उनले भनेका छन्, ‘यत्रो पैसा चलखेल गर्न अहिलेको जमानामा त्यति सजिलो छ र ? ट्रकबिना त्यत्रो पैसा चल्दैन । जीपमा बोकेर हुँदैन । एउटा ट्रकले मात्रै पनि हुँदैन । त्यत्रो ट्रक बोक्न दुई वटा ट्रक चाहिन्छ । अर्बौँको कारोबार हुँदा बैंकमा थाहा हुन्छ नी । यसमा निस्पक्ष छानबिन हुनुपर्यो भनेर सभामुखलाई मैले पत्र पनि लेखेको छु ।’
मन्त्री यादलवले पत्रकारहरुलाई ‘न्युज’ लेख्दा आफ्नो ‘भ्युज’ नघुसाउन समेत आग्रह गरे । यादवले भने, ‘या त प्रमाणित गर्नुपर्यो । या त जसले भ्रष्टाचार गर्छ, उ जेल जान्छ । आफ्नो कुरा लेख्नै मन लागे आर्टिकल लेखे हुन्छ । भ्रष्टाचार गर्यो भनेर ठूलो ब्यानर बनाएर न्युज लेख्छ, तर त्यही न्युजको खण्डन पठायो भने कुनामा यत्रो सानो अक्षरमा लेख्छ । मातृका आएपछि नी बेच्यो भनेर समाचार लेख्यो । तर मातृकाले कुनै खानी बेचेको छैन । त्यो समाचार लेख्ने नै अपाराधी हो । या त त्यसले कसैको पैसा खाएर लेखेको हो ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३