महिनाअघिदेखि नै ठूला होटल र पार्टी प्यालेसमा जम्मा भएर तीज मनाउने परम्परा नै बसिसकेको छ । तर कास्की जिल्ला प्रशासनले होटल र पार्टी प्यालेसमा तीज मनाउन रोक लगाएको छ। प्रशासनले एक सूचना जारी गरी तीज भड्किलो हुनबाट रोक्न महंगा होटल र पार्टी प्यालेसमा कार्यक्रम र भोजभतेर गर्नेलाई समातेर कारबाही गर्ने जनाएको हो।
‘आजकलको तीजले संस्कृति झल्काउँदैन। महंगा रिसोर्टमा गएर दिनहुँ दर खाने चलन छ,’ पोखराकी सामाजिक अभियान्ता अञ्जु क्षेत्रीले भनिन्, ‘यो विकराल बन्दै छ । धनी र गरिब बीचमा ठूलो खाडल सिर्जना गरेको छ। यसलाई तुरुन्त रोक्नुपर्छ नत्र अझै चुनौती थपिदै जान्छ ।’
क्षेत्रीकै नेतृत्वमा रहेको नारी जागरण अभियानले ज्ञापनप सहित तीजको भड्किलोपना रोक्न जिल्ला प्रशासन र प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो।
तीजको मौलिकतालाई जोगाउन र भड्किलो गतिविधि रोक्न प्रशासनले सार्वजनिक सूचना जारी गरेर तडकभडक नगर्न निर्देशन दिएको हो । यसलाई अटेर गरे कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नवराज बरालले जानकारी दिए । ‘पर्व मनाउन पाईन्छ । यसमा हाम्रो छेकबार छैन । तर आफ्ना गतिविधिले समाज भाँडिन हुँदैन। यसको मौलिकता हराउन लाग्यो भने संरक्षण गर्ने दायित्व सरकार र नागरिक दुवैको हो,’ उनले भने, ‘पैसा हुने महिनैभरि दर खाने र नाचगान गर्छन् । हाम्रो परम्परा यस्तो होईन । यसले संस्कार मासिन्छ । त्यसैले रोक्न बाध्य भएका हौं ।’
होटल र पार्टी प्यालेसमा तीज मनाएको थाहा भए सूचना दिन पनि उनले आग्रह गरेका छन् । प्रत्येक वर्ष भदौ शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हरितालिका तीज यो वर्ष भदौ १५ गते दर खाने र १६ गते तीज पर्व परेको छ ।
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नचाहिने कुरामा प्रतिस्पर्धा गर्नु नहुने बताए । ‘पुरुषले रक्सी खाए हामीले खाँदा के भयो ? पुरुषले चुरोट खाए हामीले खान के भो भन्दै तर्क गरेर महिला सशक्तीकरण हुँदैन,’ उनले भने, ‘विकृति रोक्ने हो । नचाहिने कुरामा प्रतिस्पर्धा गर्ने होईन । समाज विकासमा प्रतिस्पर्धा गर्नुस् । राम्रा कुराको सिको गर्नुस् र नराम्रा कुरा त्याग्नुस् ।’ भड्किलो भोजभतेरमा नजान पनि उनले आग्रह गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३