क्यापुचिनो र चुरोटको सर्कोसँगै म उसैलाई पर्खिरहेको थिए, सायद कफि लन्जमा रहेको मेरो समानान्तर कुर्चीले पनि । अष्ट्रेलिया बसाइ बिट मारेको करिब आधि दशकपश्च्यात उसँग भेट हुदै थियो ।
“म आइसके, नजिकै छु, जस्ट फाइभ मिनेट्स ।” मैले फोन गरेर हेलो भन्न नपाउदै एकै सासमा फलाक्दै फोन राखी । उसको पाँच मिनेट, घडीले फन्को मारेको बिस मिनेटपछि मात्र पुरा भयो । त्यतिन्जेल, प्रयोग हुदासम्म भएर टेबलको एसट्रेमा लाचार भएर पल्टिरहेको चुरोटको ठुटो र बढिरहेको जाडोमा एकैछिन भएपनि न्यानो बनाउने प्रयासमा रित्तिएको कफीको कपलाई हेरेर समय बिताए ।
“सौगात, आमामा, के सारो मोटाको ।”
सरी फर बिइङ्ग लेटबाट हाम्रो संवाद सुरुहुने अपेक्षा थियो, मलाई जे सुन्न मन लाग्दैन उसले त्यसैबाट संवाद सुरु गरी । मानिसको फिजिकल अपियरेन्सबाटै संवाद सुरु गर्नु पर्छ र । ओह, कस्तो माटोघाटो खाइलाग्दो । हैन के सारो ख्याउटे मरङ्गच्यासे, खानै नपाएको जस्तो । यस्ता संवादहरु मलाई बेतुकका अनावस्यक र फजुल लाग्छन् ।
मोटोघाटो सुख पाएको ज्यान र पातलो दुख पाएको ज्यान गरी दुई भागमा वर्गिकरण गर्नेको जमात पनि छ । उनीहरुलाई कसले सम्झइदियोस, मोटो देखिने मानिसले कुइन्टल पिडाको भारी बोकेर हिडेको अनि पातलो सो कल्ड मरङ्गच्यासे मानिस, प्रफुल्ल सुखको खातमा रमाइरहेको । तिनै फजुल मानिसहरु जस्तै उसले पनि फजुल वाक्य भेटी, वर्षौ पछिको भेटको संवादको सुरुवातमा पनि ।
किन समयमै आइनौ भनेर प्रश्न गर्न अब उचित ठानिन् । झनक्क उठेको रिसलाई दबाउदै फिस्स हासोको लेप लागाइदिए मुहारमा । “हेल्लो भाइ” हात हल्लाउदै ठूलो स्वरमा बोलाइ । सेतो सर्ट, कालो पाइन्ट, कलिलो देखिने युवक हातमा कागजको पाना र पेन लिएर आयो । मेनु टेवलमा राख्दै सकेको मुस्कान छोड्यो ।
“टु क्यापुचिनो, एण्ड वन क्लव स्याण्डविच प्लिज” वेटरले त्यो अर्डर टिप्दासम्म पनि सुरुवातमा दिएको मुस्कानको गतिमा कमी हुन दिएको थिएन ।
“भाइ, एउटा चुरोट पनि, लाइटमा”
“हस सर” – त्यो हसिलो वेटर मेनु बोकेर गयो ।
मलाई पनि क्यापुचिनो नै अर्डर गरी, के लिन्छौँ भनेर सोध्न जरुरी पनि ठानिन उसले । हुन त हामी पहिलो पटक सँगै बसेर कफी पिउन लागेका थिएनौँ । मेरो रोजाइ पनि प्राय क्यापुचिनो नै हुन्छ, त्यो कुरामा उ पनि अन्जान थिइन । तैरिरहेको फिज ओठमा टासिदा क्यापुचिनोको स्वाद झन रोमान्चक लाग्छ मलाई । ढिलो आएर फजुल वाक्यबाट संवाद सुरु गरेदेखि नै रिस उठिरहेको मलाई, कफी अर्डरको कुरामा भने रिस उठेन ।
मलाई त्यो वेटर भाइको मुस्कान निकै अनौठो र रमाइलो लाग्यो । मनै देखि खुलेर आइरहेको थियो उसको मुस्कान । अझ पातलो मानिसलाई बेखुसी र दुखीको वर्गमा वर्गिकरण गर्नेहरुलाई यो भाइ गतिलो जवाफ हुन सक्थ्यो ।
“अनि सुनाउ के छ नयाँ नौलो ” फेरी पनि संवाद उसैले सुरु गर्दै थिइ ।
“के हुनु , सबै ठिकै भनौँ । अनि तिम्रो सुनाउ के छ ?”
“तिम्रो जस्तै सबै ठिकै भनु भने, ठिक केही पनि छैन । बेठिक छ सबै भनु भने कथा लामो छ ।”
“आज मेरो फुर्सद नै छ, यदि सुनाउछौँ भने सुन्न इच्छुक पनि ।”
उ केहि समय टेबलतिर निहुरिदै नङ्गले टेबल कोर्तन थाली, मानौँ त्यो टेबेलमा उसका सबै पिडाहरु टासिएर बसेका छन् र उ एक एक पिडा कोटाउदै फाल्दै छे । केही समय अगाडिसम्मको रिस, उसको मौनता र उसमा झल्किरहेको पिडाले मत्थर भइसकेको थियो । पछिल्लो समय उसको वैवाहिक जिवन त्यती सुखी नभएको उसका अचेलका प्राय फेशबुकका स्ट्याटसले प्रष्टै पार्दथ्यो । म करिब करिब ढुक्क थिए, उसको पिडाको पछाडी उसको वैवाहिक सम्बन्धमा चलिरहेको उतार चढाव थियो । उसको प्रेमीसँगै बिहे हुन लागेको खबर सुनाएकी थिइ, त्यसपछि क्रमश हाम्रो संवादहरु पातलिदै गएको थियो, जे होस एक मन मिल्ने साथी थिइ उ, सायद अझै पनि छे ।
“किन मौन रहेको, सुनाउन मन छैन भने मैले कर चाहीँ गर्दिन है । तर, पिडा र रक्सी उस्तै हो, जती छोपेर राख्यो त्यती कडा अनि खुला छाड्यो भने फिक्का ।”
उसले मेरो आखामा हेरी, मौनतालाई भने कायम नै राखी । उसका आखा टिलपिल गरिरहेका थिए । एकमनले त सोचे मैले सायद गलत समयमा उसलाई भेटे, आज भोली मलाई ढुङ्गा जस्तै बन्न मन लागिरहेको थियो । तर उसका टिलपिल आखाले फेरी मलाई कम्जोर बनाउने प्रयत्न गरिरहेका थिए । उसका बग्नै लागेका आशुले गति लिए, अन्तत पोखिन तछाड मछाड गरिरहेका आशुलाई उसले थामेर राख्न सकिन । टेबलमा रहेको न्याप्किन उठाएर सकेसम्म आखाका गाजल नपुछिने गरी आशु पुछी ।
गाजलमा सजिएका युवतीले आशु बगाउदा मलाई खुबै पिडा हुन्छ । आखाको गाजललाई झन् धेरै पिडा हुदो हो । त्यसै त छोटो आयु लिएर जन्मिएको गाजल, आशुले बगाएर त्यहि छोटो आयु पनि पुरा बाच्न पाउदैनन् ।
हसिलो भाइ मुस्कानसँगै कफी र क्लब स्याण्डविच बोकेर हामी तिर आयो । उसले रुझेका आखा लुकाउन सकेको निहुरिएर बसी । उसको प्रयास सफल भयो या भएन, ठोकुवा गर्न नसके पनि कफी टेबलमा राख्दा सम्म पक्कै पनि उसले चाल पाएको हुनुपर्छ । केहि मिनेट अघि मात्र खुलेर अर्डर गरेको मान्छे, एकैछिनमा घोसे मुन्टो लगाएर बसेको छ । जो सुकैले सजिलै अनुमान गर्न सक्छ ।
मलाई रोइरहेको मान्छेलाई फकाउन आउदैन, अझ भनौ फकाउन मन पनि लाग्दैन । रुन पाउनु मान्छेको त्यतिकै अधिकार हो जति हास्न पाउने छ । हासेर मानिस आफ्नो खुसी ब्यक्त गर्छ र रोएर पिडा कम गर्ने कोसिस । हुन त यस कुरा जग्जित सिंहको यो गजलले सहि नठहर्याउन पनि सक्छ ।
“तुम इत्ना जो मुस्कुरारहि हो
क्या गम हे जिस्को भुलारहि हो”
उसका आखा ओभाउने कुनै लक्ष्ण देखिरहेको थिइन म । उसैलाई एकोहोरो हेरिरहन पनि उचित लागेन, चुरोट सल्काउदै कफीको चुस्की लिन थाले । लागिरहेको थियो, एकछिन्मा उसले कथा सुनाउछे, आशु बगाएर सायद साहास संगाल्दै छे । तर त्यसो भएन, उ त्यहाबाट जुरुक्क उठेर हिडी । कता जान लागेकी केही थाह भएन, उ कफी लन्जको गेटबाट बाहिर निस्किदासम्म मैले उसैलाई हेरिरहे । रिस पनि उठ्यो, मैले नै उसलाई पिडा दिएको जसरी उसले व्यवहार देखाइ । टेबलमा रहेको कफी र स्याण्डविचले मलाई जिस्काइरहेको जस्तो लाग्यो । हातमा सल्किरहेको चुरोट निभाए, सोझै काउण्टरमा गएर बिल तिरेर बाहिर निस्किएँ ।
उसँग अब मलाई कुनै सम्पर्कमा बस्नु थिएन, उसको त्यो अनौठो व्यवहार मलाई पचाउन मुस्किल परिरहेको थियो । म सम्झिरहेको थिए – उ केही नबोली बाहिर निस्किरहदा कफी लन्जका मान्छेहरु मलाई यसरी हेरीरहेका थिए, कि मानौँ मैले उमाथी ठूलै अत्याचार गरिरहेको थिएँ ।
“सौगात, प्लिज चेक योर मेल । सरी फर माई विहेवियर अन लास्ट मिट ।”
करिब एक महिना पछि उसैको मेसेज आयो । ति नेतालाई जस्तै मलाई पनि ताजुव र आश्चर्य एकैसाथ लाग्यो । उसको त्यस्तो व्यवहार मलाई फिटिक्कै मन परेको थिएन । लागोस पनि कसरी, उसको सम्पुर्ण पिडाको कारण म नै हु जस्तो व्यवहार देखाएकी थिइ । कफी लन्जबाट फर्किएपछि उसलाई सम्पर्क गर्ने कुनै प्रयास पनि मैले गरेको थिइन । तर पनि मनमा कौतुहल्ता जाग्यो, ल्यप्टप खोलेर मेल हेरे ।
“सबै भन्दा पहिले त माफीबाटै कुरा सुरु गर्छु सौगात । तिमीसँग भेट्दा मलाई खोइ के भयो भयो, सम्हालिनै सकिन । डाको छाडेर रुन मन लाग्यो, त्यसैले घर आएर सावर खोलेर आधि घण्टा मन फुकाएर रोए ।
त्यो विरानो शहरमा पनि कहिले काहि पिडालाई त्यसैगरी सावरको पानीसँगै बगाउने प्रयास खुबै गर्थे, केही हदसम्म बगेको आभास पनि हुन्थ्यो । मैले त्यो कफी लन्जमा गरेको व्यवहारलाई पुरानो साथी सम्झेर माफ गरिदेउ है । मेरो कथा त्यहि दिन नै तिमीलाई सुनाउने प्रयास निकै गरे, सकिन । तर तिमीलाई मेरो कथा भनौँ या व्यथा, नसुनाउदासम्म मलाई पनि छट्पटि भइरहयो । फेरी भेट्न बोलाउँ, साहास जुटेन । फोन गरु, बोली फुटेन । मेरो छट्पटिको अवस्था मेटाउने विकल्पको रुपमा इमेल सम्झिए ।
तिमी नेपाल फर्किएको केही महिनामा मैले पनि करिब ६ वर्षको अष्ट्रेलिया बसाई बिट मार्ने निधो गरे । त्यो विदेशी भुमीमा मेरो सुख दुखको साथीको रुपमा तिमीलाई भेट्न पाएकोमा आफूलाई निकै गर्व लाग्छ । फेड्रेशन स्क्वाएरमा बसेर कफी पिएको खुब याद आउछ मलाई । राभेन वर्ड देखेर खैरेको देशमा त काग पनि सेतै हुने है – भन्दै हासेको सम्झिदा अहिले पनि मेरो मुहारमा मुस्कान छाउछ । तिमीसँगै मेरो मन पनि नेपाल फर्किएको थियो, म तिमीलाई मन पराउन थालेकी सायद ।
नेपाल फर्किएपछि सोझै तिमीलाई नै भेट्न आउने चाहना थियो । तिमीले फेशबुकमा अपलोड गरेको तिम्रो प्रेमिकाको फोटोले मेरो चाहना, चाहनामै सिमित राखे । सायद त्यो दिन तिमीले पहिलो पटक तिम्रो प्रेमिका सामाजिक सञ्जालमा सार्वजनिक गरेको थियौँ । मलाई पिडा नभएको होइन तर तिम्रो खुसीमा म पनि जानी नजानी खुसी भए । नेपाल फर्किदै गर्दाको फोटोमा तिम्रो कमेन्ट देखेपछि तिमीले पनि भेट्ने कोशिश अवश्य गर्छौँ भन्नेमा ढुक्क थिए, झुटो परिकल्पनामै भएपनि म खुसी त थिएँ ।
आफ्नै देशमा केहि गर्ने संकल्प लिएर नेपाल फर्किएको थिएँ । कुनै व्यवसाय सुरु गर्ने उद्देश्यले अनेक मानिसहरुसँग भेट गर्थे । त्यसै समयमा मेरो भेट विशालसँग भयो । विशाल एक प्रतिष्ठित कम्पनीको मार्केटिङ्ग म्यानेजरको रुपमा कार्यरत छु भन्थ्यो । मैले गरिरहेको विज्नेश रिसर्चमा उसले खुबै सहयोग गर्यो । उसको व्यक्तित्व प्रति म सायद आकर्षित हुदै गइरहेको थिएँ । उसले मलाई आकर्षित गर्न कुनै कसुर बाँकी राखेन, हामी विचमा विस्तारै प्रेमको मुना पलाउन थाल्यो ।
भुकम्पले घर भत्किएपछि सिन्धुपाल्चोकबाट स–परिवार काठमाडौँ आएर बसेका विशालको परिवार आर्थिक रुपमा केही कम्जोर थियो । अष्ट्रेलिया गएर घरको कम्जोर आर्थिक अवस्था केही हदसम्म उकास्ने सपनामा रहेछ विशाल । मसँग डिपेन्डेन्टमा अष्ट्रेलिया जान चाहेको योजना उसले पनि सुनायो । मेरो भिषा सकिएको र आफू अब अष्ट्रेलिया जान नचाहेको कुरा उसलाई सुनाए । यस कुराले उसको मन केही अमिलिएको महसुस गरेकी थिए । कौतुहल्तासहित सोधिएको उसको प्रश्नप्रति मेरो जवाफ सुनेपछि उसको मुहार यसरी अध्यारो भयो, मानौ अब ठूलै अधिवेरी आउदै छ ।
उ केही बोलेन । उसको मुहारमा ठूलै बज्र बजारिए जस्तो पिडा प्रस्ट झल्किरहेको थियो । म भने उसको त्यो अध्यारिएको मुहारमा कसरी खुसी छर्ने, त्यहि उपायको खोजीमा थिएँ । अनेकौँ प्रयासहरु गरे, उ जबरजस्ती मुस्कुराएको अभिनय गथ्र्यो । उसको मायामा सायद म चुर्लुम्मै डुबेकी थिएँ । उसँग बिहे गर्ने सपनाहरु बुन्न थालेकी थिएँ । समाजले तोकेको बिहे गर्ने उमेरको चरम बिन्दुमा पनि थिएँ । मैले उसलाई खुसी बनाउने प्रयास र उ खुसी भएको अभिनय गर्ने क्रम चलिरहेकै थियो, त्यसै समय उसँग बिहेको प्रस्ताव राखे ।
परिवारसँग वाचा रहेछ उसको, काठमाडौँँमा घर नबनाइ बिहे नगर्ने, वाचा पुरा नहुदासम्म बिहे नगर्ने अठोट पनि । ६ वर्ष दुख गरेर सामाखुसीमा पाँच आना जग्गा आफै जोडेकी थिएँ, आमाको नाममा थियो । उसलाई यो कुरा सुनाए, साथै बैँकमा भएको केही ब्यालेन्सको जानकारी पनि । उसको मुहारमा मडारिएको कालो बादल हराएर खुसीको बादलले यसरी भरियो, मानौ ग्राफिक्स डिजाइनरले एक क्लिकमा कालो रङ्गलाई जसरी सेतोमा बदल्छ । प्रफुल्ल मुहार सहित उ बोल्न थाल्यो, त्यो जग्गा बेचेर, केही ऋण लिएर पेप्सीकोलामा सजिलै घर किन्न सकिन्छ । म त प्रेममा एकोहोरो भइसकेको थिए, उसले जसो भन्यो त्यसै गर्थे, उसकै खुसी सर्वोपरी ठान्थेँ । विशालको इच्छा अनुसार नै हामीले दुवै जनाको संयुक्त नाममा घर किन्यौँ । हाम्रो धुमधामसँग बिहे भयो ।
प्राय चेलीको रहर हुन्छ, आफ्नो श्रीमान्ले ल्याएको गहना र वस्त्रमा सजिएर उसको घर भित्रिने । मैले भने बिहेमा बेहुलाले ल्याउनु पर्ने गहना र सरसामान पनि सबै आफै नै किने । हुन त अब के विशालको, के मेरो, सबै हाम्रो भएको थियो । तिलहरी र मंगलशुत्र भने विशालले मलाई किन्न दिएन, आफै किन्यो । म बुहारी बनेर आफैले जोडेको हाम्रो संयुक्त घरमा भित्रिएँ ।
बिहेको पहिलो रात, आफुले माया गरेको मान्छेसँग बिताउन पाँएकी थिएँ । मन रोमाञ्चित थियो । उ आयो र केही नबोली ओछ्यानमा पल्टियो । मैले उसलाई च्याप्प अंगालोमा कसे र उसको ओठमा चुमे । उसले केहि प्रतिकृया जनाएन । वर्षैदेखि संगालेर राखेको मेरो कौमारित्व मेटाउन चाहिरहेकी थिएँ, उसले मेरो चाहनाको कुनै वास्तै गरेन । म पनि ओछ्यानको आर्को छेउ फर्किएँ ।
पछाडीबाट मेरो कम्मरमा एक्कासी हातले कसियो । मेरो शरिर भरि उसको हातहरु चलमलाउन थाले । अंगअंगमा आगोको रापले पोलिरहेसरी आभाष हुदै थियो । म उसलाई ढाड फर्काएर धेरै बेर रहन सकिन । अन्तत मेरो चाहाना उसले पुरा गर्यो । मैले त्यसदिन धेरै नौला कुराहरुको अनुभव गरे – सिन्दुर, नयाँ परिवार, श्रीमान अनि यौन ।
भोली पल्ट दुरान फर्काउन गइयो । विशाल पनि मख्ख थियो, ज्वाइ साहेवको मेजमानी पाएर । ऐना हेर्थेँ, आफूले आफैलाई पहिलो चोटी शुन्दरीको उपमा दिएँ । रातो सिन्दुर, रातो पोते, रातो चुरा, रातो सारी । साच्चै म शुन्दरी नै देखिएको थिएँ । त्यस रात हामी त्यही नै बस्यौ, मेरो माइती अनि विशालको ससुराली ।
अर्को दिन बिहान खाना खाएर घर फकियौँ । बिवाह दर्ता गर्नु थियो, दर्ता गर्न जाउ भने, विशालले खासै वास्तै गरेन । विहेको पहिलो साता नै सुखद रहेन मेरो लागि, सबैले निकै फरक व्यवहार गर्थे ।
मैले कल्पना गरे भन्दा निकै फरक अनुभव गरे मैले, मेरो वैवाहिक जिवन । साथीसंगीले सुनाएका अनुभवहरु भन्दा निकै भिन्दै भए मेरा अनुभवहरु । बिना खबर रातमा बाहिरै बास बस्न थाल्यो विशाल । सबै एककासी पराइ बन्दै थिए मसँग, मैले बुझ्नै सकिन मैले गल्ती के गरे । मैले जानेको सबै गरेकी थिएँ, सक्ने भन्दा धेरै दिने कोशिस गरेकै थिएँ । त्यहि पनि खोइ के पुगेन पुगेन ।
एक महिना पछिको कुरा हो, मामाको छोराको बिहे थियो । सिन्दुर, पोते र गहनामा सिङ्गारिएर बिहेमा जान मन थियो । साच्चै भन्नु पर्दा बेहुली जस्तै देखिन अझै मलाई रहर पुगेकै थिएन । श्रींगार सकेर दराजमा गहना खोज्न गए । मङ्गलशुत्र र तिलहरी बाहेक कुनै गहना थिएन । दुरानमा गएर फर्किएपछि दराजमा राखेको गहना मैले छोएकै थिइन । अतालिदै सासु आमालाई सोधे । व्यवहार मिलाउन विशालले गहना बेचेको जवाफ पाएँ ।
ठूलै भिरबाट गुल्टिरहेको आभाष भयो, अझ भनौ कुनै भारी वस्तुले नराम्रोसँग थिचिरहेको आभाष भयो । तिलहरी र मंगलशुत्रसँगै रहेको विशालको नागरिक्तामा आखा पर्यो, जन्म मिती देखेर म झन अवाक भए । मेरो उमेर भन्दा सात वर्ष कान्छो उमेर देखेँ । मसँग त मेरै उमेर बराबरको भनेको थियो । विस्वास नलागेर आमालाई घुमाएर सोधे, नागरिक्ताको उमेर नै सहि रहेछ । मलाई आश्चर्य लाग्यो, विशालले मसँग किन झुट बोल्यो ।
त्यसदिन साझ विशाल रक्सीले मातेर घर आयो । गहनाको कुरा र उसको उमेरको कुराले छाती पोलिरहेको थियो । म धेरैबेर यस विषयमा बेखबर रहेर बसिरहन सकिन । मैले उसलाई सोधेँ, उमेर झुट बोल्नुको कारण । उसले फर्काएको जवाफले ममाथी बज्रपात पर्यो । कोहि मानिस यो हदसम्म कसरी निर्दयी र स्वार्थी हुन सक्छ, मैले कल्पनासम्म गरेकी थिइन ।
उसले त सुरुमा मसँग डिपेण्डेण्टमा अष्ट्रेलिया जानको लागि प्रेमको नाटक गरेको रहेछ । पछि घर र सम्पतिको लोभले बिहे गरेको रहेछ । मास्टर्स सके भनेको मान्छेले एस.एल.सी. मात्र पास गरेको रहेछ । उ अरु कोहीसँग प्रेममा रहेछ । उसले रक्सीको नशामा सबै कुरा ओकल्यो ।
उसले प्रहार त शब्दको मात्र गरेको थियो, म भने गोली लगेर छट्पटाइरहेको सिपाही जस्तै भएकी थिएँ । म कसरी निदाउन सक्थेँ, रात भर रुदै ओछ्यानमा पल्टिएँ । मलाई ज्युदो लाशसरी बनाएर पनि मेरो शरिर भोग गर्न भने पछि परेन उ ।
रुदै माइत गएर सबै व्यथा पोखौँ जस्तो लाग्थ्यो तर आफैले रोजेको श्रीमानले गरेको कर्तुत सुनाएर आमा वुवालाई पिडा दिन पनि मन लागेन । यसै गरी मैले नै जोडेको घर भित्र उसका परिवारले अनेक मानसिक र शाररिक यातना दिदै मलाई डिप्रेशनको सिकार बनाए । सहनसिलताको बाध भत्कियो, वुवालाई रुदै सबै कुरा सुनाएँ । मेरो डिभोर्स भयो । मैले आफ्नै सम्पति पनि आधा मात्र पाएँ, म हुनुसम्म कसैको स्वार्थको निम्ति प्रयोग भएँ ।
घाउलाई निको बनाउने प्रयास गर्दै थिएँ, केही हदसम्म सफल हुदै गइरहेकी थिएँ । विशालले किनिदिएको तिलहरी र मङ्गलशुत्र झोलामा भेटे । साइनो त केही बाँकी रहेन, यो झिनो सम्झना के राखु जस्तो लाग्यो । एक मनले त झ्यालबाट बाहिर हुर्याइदिउँ जस्तो लाग्यो । फेरी सोचेँ, मेरो लागि उसले गरेको खर्च यति त हो, यहि नै भएपनि भोग गरेर मन बुझाउछुँ । सुन पसलमा लगेर बेच्ने निधो गरे । घर नजिकैको सुन पसलमा पुगेँ । मलाई पसले दाइले अनौठो पारामा हेर्दै भने – सुन त नक्कली हो । माया त नक्कली गर्नेले सुन नक्कली दिनु के नौलो भयो र । तर मन फेरी बिझायो, त्यहि परिवारको सम्झनाले, त्यहि सिन्दुरको सम्झनाले, त्यहि झेली श्रीमानको सम्झनाले । त्यो त्यहि दिन थियो सौगात, जुन दिन म कफी नखाइ रुदै फर्किएर तिम्रो मन दुखाएकी थिएँ ।”
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७