विरगञ्ज – जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।
साथै पीडित कंशाकारको उपचारमा खर्च भएको रु एक करोड १४ लाख ८५ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन अदालतले आदेश दिएकोे छ । जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीबार सो आदेश दिएको अदालतले जानकारी दिएको छ ।
अदालतले कंशाकारमाथि तेजाब प्रहार गर्ने केशरीलाई भगाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै हेटौँडाका सञ्जय मण्डललाई दुई वर्ष छ महिना कैद सजायसहित रु ४० हजार जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ ।
विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै केशरीले कंशाकारमाथि विसं २०७० वैशाख ९ गते पसलमा बसिरहेको समयमा तेजाब प्रहार गरेका थिए । प्रहारपछि मण्डलको मोटरसाइकल चढेर केशरी भागेका थिए ।
वीरगञ्ज हुँदै भारत भागेका उनीलाई छ वर्षपछि मकवानपुर प्रहरीले भारतबाटै पक्राउ गरेर ल्याएको थियो । आक्रमणबाट अनुहार तथा शरीरको अन्य भागमा गम्भीर असर पुगेको कंशाकारले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आइरहेकी छिन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३